ad ad

समाज


सिँचाइपोखरीमा डुबेको अवस्थामा फेला पर्‍यो दाजुबहिनीको शव

घटनास्थल सुरक्षित राखेर प्रहरीले थाल्यो अनुसन्धान
सिँचाइपोखरीमा डुबेको अवस्थामा फेला पर्‍यो दाजुबहिनीको शव

फाइल तस्बिर


नेपालखबर
भदौ ११, २०८१ मंगलबार ५:३८, खोटाङ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्याम्टिारस्थित बाङमाका दुई बालबालिकाको एउटै सिँचाइपोखरीमा डुबेर मृत्यु भएको छ। 

च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईका छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको सोमबार साँझ सिँचाइपोखरीमा डुबेर मृत्यु भएको हो।

दिनभर घरैमा खेलिरहेका दाजुबहिनी बेलुकीपख हराएपछि खोजी गर्नेक्रममा घरदेखि केही पर रहेको भुतियाखोला नजिकै बनाइएको सिँचाइपोखरीमा डुबिरहेको आवस्थामा फेला पारिएको थियो।

बेलुका पौने छ बजे फेला पारिएका दुवैजनालाई हातखुट्टा चलाउँदै गरेको अवस्थामा सिँचाइपोखरीबाट उद्धार गरेर घरमा ल्याएको केही समयमा दुवैजनाको मृत्यु भएको वडाध्यक्ष भूपालसिंह राईले जानकारी दिए।

घटना भएको जानकारी पाएलगत्तै प्रहरी चौकी च्यास्मिटारबाट प्रहरी सहायक निरीक्षक जबरबहादुर बस्नेतको नेतृत्वमा प्रहरी टोली खटिएका छन्। 

घटनास्थलमा खटिएका प्रहरी टोलीलाई घटनास्थल सुरक्षित राख्न लगाएर थप अनुसन्धान तथा कानूनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थालतर्फ गएको सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।

खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो। सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीस्थित च्यास्मिटारका स्थानीय बासिन्दा हिउँदको समयमा उक्त मुहानमा खानेपानी लिन जाने गरेका थिए।

अहिले वर्षाद्को समयमा गाउँमै अर्को मुहानमा पानी भएकाले उक्त पोखरी भएको ठाउँमा खासै मान्छे जाँदैनन्। सुनसान ठाउँमा रहेको पोखरीमा डुबेर दुई बच्चाको ज्यान गएको स्थानीय बासिन्दा एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवा नेता रसकुमार राईले जानकारी दिएका छन्।

मृतक सङ्गम स्थानीय कलङ्का आधारभूत विद्यालको कक्षा–२ मा अध्ययनरत थिए। बुबा गइन्द्र रोजगारीका लागि हाल विदेशमा छन्। गइद्र र ममताको दुवै सन्तानको पोखरीमा डुबेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ।

यसअघि यही भदौ– ७ गते ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित खिरुका ११ वर्षीय अर्जुन राई र नौँ वर्षीय राज राईको खोलाको दहमा डुबेर मृत्यु भएको थियो। 

विद्यालयबाट घर फर्कनेक्रममा गर्मी छल्न भन्दै पौडी खेल्न स्थानीय चङ्खुखोलाको दहमा पसेका दुई बालकको डुबेर मृत्यु भएको थियो। 

खिरुका स्थानीय टंकराम राईका छोरा अर्जुन र भोजकुमार राईका छोरा राजको शुक्रबार दिउँसो खोलाको दहमा डुबेर मृत्यु भएको स्थानीय पुरुषोत्तम राजभण्डारीले जानकारी दिएका छन्। 

राजभण्डारीका अनुसार मृतकद्वय अर्जुन र राजको बुबाहरु टङ्कराम र भोजकुमार एकाघरको दाजुभाइ हुन्। मृतक अर्जुन सोही स्थानका जनहित आधारभूत विद्यालयको कक्षा–५ मा तथा राज कक्षा–४ मा अध्ययनरत रहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .