ad ad

गण्डकी


प्रचण्ड पोखरामा, एउटै नाउमा वर्षमान र जनार्दन!

प्रचण्ड पोखरामा, एउटै नाउमा वर्षमान र जनार्दन!

वाशुदेव मिश्र
भदौ १०, २०८१ सोमबार १२:२९, कास्की (पोखरा)

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड असहजतालाई सहजतामा बदल्ल माहिर नेता मानिन्छन्। उनीसँग अहिले सत्ता छैन। सत्ता नहुनु भनेको फुर्सद हुनु पनि हो। तर, प्रचण्डलाई फुर्सद छैन।

कारण– उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीमा फरक मत राख्दै नेतृत्वलाई चुनौती दिएका छन्। नेतृत्व नै हस्तान्तरणको प्रस्ताव राखेका छन्। अकण्टक नेतृत्वमा रहेका प्रचण्ड यतिबेला चाहिँ ‘असन्तुष्टि’लाई थामथुम पार्ने रणनीतिको तानाबाना बुन्दैछन्।

पार्टीभित्रैबाट आएको ‘पेलान’ बाट मुक्ति खोजिरहेका प्रचण्ड आइतबारदेखि चाहिँ पोखरामा छन्। माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरी परामर्श बैठकमा भाग लिन उनी दलबलसहित पोखरा आएका हुन्।

उनीसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिवमा देव गुरुङ र उपमहासचिव वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल, सचिवहरू दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल,लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे लगायत पोखरामै छन्। 

‘प्रदेशस्तरीय आन्तरिक प्रशिक्षण कार्यक्रम हो। साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकको निर्णय अनुसार सबै प्रदेशमा कार्यक्रम आयोजना गर्ने र नेतृत्वले तलका कुरा सुन्ने कुरा सुन्ने भनेअनुसार बैठक राखिएको हो,’ माओवादी केन्दका एक नेताले भने, ‘यो कार्यक्रममा केन्द्रीय पदाधिकारीसहित गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र गण्डकी कमिटीका गरी ७४ जनाको सहभागिता रहेको छ।’

प्रचण्डले आइतबार परामर्श समितिको बैठकको सुरुमा करिब १५ मिनेट बोलेका थिए।

‘अध्यक्षज्यूले विषय प्रवेश गराउनुभएको हो, त्यो क्रममा उहाँले पार्टीमा विवाद भएर तपाईंहरूमाझ आएका हैनौँ, पार्टी फुट्दैन। तपाईंहरूका कुरा सुन्न आएका हौँ भन्नुभयो,’ ती नेताले भने।

सो उक्रममा प्रचण्डले पार्टीभित्र सचिव जनार्दनले उठाएका विषयलाई फरक दस्तावेज नभएर फरक मत भएको पनि बताएका थिए। प्रचण्डले सोमबार १२ बजेपछि सुरु हुने बैठकको अन्त्यमा बोल्नेछन्।

सोमबार बिहान उनले फेवाताल किनारमा निर्मित फुटट्रयाकको उद्घाटन गरेका छन्। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष रहेका माओवादी नेता विश्वप्रकाश लामिछानेले तत्कालीन वाइसीएललाई फुटट्रयाक निर्माणको जिम्मेवारी दिएका थिए।  

यसअघि फुटट्रयाकमा नै ८० वर्ष कटेका माओवादी नेता दीनानाथ शर्माले प्रचण्डलाई मर्निङ वाकमा साथ दिएका थिए।

प्रचण्डले आफूले गरेको काम सामाजिक सञ्जाल फेसबुकमा पनि पोस्ट गरेका छन्। उनले भनेका छन्, ‘सुन्दर नगरी पोखराबाट यहाँहरू सबैलाई नमस्कार। भनिन्छ, स्वास्थ्य नै धन हो। ८० उक्लनु भएका दीनानाथ शर्माको सक्रियताले हामी सबैलाई प्रेरित गर्दछ। स्वस्थ नागरिकले स्वस्थ समाज निर्माणमा योगदान गर्न सक्छन्। नियमित शारीरिक श्रम र व्यायामलाई जीवनको अभिन्न अङ्ग बनाऔं। नोट : पर्यटकीय राजधानी पोखराको फेवाताल किनारमा वाइसीएलमा आवद्ध युवाहरूले निर्माण गरेको यो फुटट्रयाक मलाई नै उद्घाटन गर्ने अवसर मिलेको थियो।’ 

दीनानाथको दुहाइ!
दीनानाथ माओवादीका पाकामध्येका नेता हुन्। आफूभन्दा उमेरले ‘काँचा’ नेताले नेतृत्वलाई चुनौती दिइरहेका बेला ‘मर्निङ वाक’ मा आफूसँगै हिँडेका दीनानाथको सक्रियताको कुरा उठान गरेर प्रचण्डले सम्भवतः नेतृत्वमा दाबेदारी पेस नगर्न र आफू नै अहिले पनि सर्वमान्य भएको सन्देश दिन खोजेका छन्। 

एउटै नाउमा प्रभाकर र अनन्त
माओवादीमा सधैँ प्रचण्डलाई साथ दिँदै आएका तर आन्तरिक प्रतिस्पर्धा रहेको मानिने उपमहासचिवद्वय वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ ले एउटै डुंगामा बसेर फेवातालको सयर गरेका छन्। प्रभाकर त्यही नेता हुन्– जसले साउनको २६ गते बसेको स्थायी समिति बैठकमा १२ पृष्ठको प्रस्ताव अघि सार्दै प्रचण्डले नेतृत्व छाड्नुपर्नेसम्मको कुरा उठाएका छन्। अनन्त र आफूलाई नेतृत्वबाटै खेलाउने काम भएको संगिन आरोप पनि उनले लगाएका छन्। 

अनन्त चाहिँ अहिले मौनजस्तै छन्। भनिन्छ– उनी पनि प्रभाकरको लाइनबाट टाढा छैनन्। यी दुवै नेता एउटै डुंगामा सयर गर्नुले चाहिँ साँच्चै यी दुई नेताको मन मिलेको त हैन? भन्ने रुपमा पनि हेरिएको छ।

सबै तस्बिरहरू : सन्तोष पुनको फेसबुक वालबाट।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .