पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘समर्पण सम्मान–२०८०’बाट सम्मान गरिएको छ। पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरले आज यहाँ एक कार्यक्रम आयोजना गरी उनलाई उक्त सम्मान प्रदान गरेको हो।
नेपाली कांग्रेसका नेता डा शेखर काइरालाले श्रेष्ठलाई प्रमाणपत्र एवं दोसल्ला ओढाई सम्मानित गरेका छन्। कार्यक्रममा डा कोइरालाले संघीयताको सफल कार्यान्वयनका लागि जनताको घरघरमा सरकार पुग्नुपर्ने बताए। उनले मुलुकमा लोकतन्त्र स्थापित गर्न सुशासन एवं पारदर्शिता कायम गरी भ्रष्टाचार, दण्डहिनता अन्त्यका लागि सबै दल लाग्नुपर्नेमा जोड दिए।
नेता डा कोइरालाले दुई हजार पाँच सय चिकित्सक विदेश पलायन भएका भन्दै यसप्रति चिन्ता व्यक्त गरे। उनले दक्ष जनशक्ति मुलुकमा बस्ने वातावरण मिलाउनुपर्ने आवश्यकता औँल्याए।
सम्मानित पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सङ्घीयतामा जनतालाई लाभ र उपलब्धिता दिनुपर्ने भन्दै लोकतन्त्रमा नागरिकका समस्याप्रति दल गम्भीर भएर समाधान गर्नुपर्नेमा जोड दिए।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले औद्योगीकरण, सञ्चार, शैक्षिक, पूर्वाधार विकास तथा राजनीतिक क्षेत्रमा पिताजी कृष्णप्रसाद कोइरालाको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरे।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, परिषद्का अध्यक्ष कविराज न्यौपाने, नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य महेश रेग्मी, बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष जीतबहादुर थापामगर, योगेन्द्र अधिकारी र कांग्रेस नगर सभापति दीपक चापगाईंले प्रजातन्त्र स्थापना र समाज परिवर्तनमा पिताजी कोइरालाले पुर्याएको योगदानबाट आजका युवा पुस्ताले प्रेरणा लिनुपर्ने बताएका थिए।
Shares

प्रतिक्रिया