ad ad

समाज


एनआरएनए अन्याय पर्दा दलहरू बोल्न कन्जुस्याइँ गरे : अध्यक्ष केसी

एनआरएनए अन्याय पर्दा दलहरू बोल्न कन्जुस्याइँ गरे : अध्यक्ष केसी

नेपालखबर
माघ ८, २०८० सोमबार १५:०, काठमाडौँ

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका नेपालीलाई मत हाल्न पाउने अधिकार दिन माग गरेका छन्। 

‘नेपाली नागरिकता बोकेका ५० देखि ६० लाखसम्म नेपाली विदेशमा छन्। सर्वोच्च अदालतले आदेश पनि दिइसकेको छ, राजनीतिक नेतृत्वले विदेशमा रहेका नेपालीले मत हाल्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ,’ उनले भने।

संघको आयोजनामा सोमबार चन्द्रागिरीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशको ३३ प्रतिशत जिडिपी वैदेशिक रोजगारीबाट योगदान रहेको उल्लेख गर्दै एनआरएन नागरिकताको प्राप्ति र अधिकारमा मान्यतालाई सरलीकृत गर्न पनि नेताहरुलाई अनुरोध गरे। 

‘८० लाख नेपाली विदेशमा छन्। नेपालको राजनीतिक परिवर्तनमा एनआरएनले सहयोग गरेको छ।  नेपालमा पहिलोपटक गैरआवासीय नेपाली संघको सम्मेलन हुँदा सत्तामा रहेको राजा शासन र आन्दोलनमा रहेका शक्तिलाई पनि सहयोग गरेका थियौं,’ उनले भने।

गैरआवासीय नेपाली संघले नेपालमा एक अर्बभन्दा बढी संस्थागत च्यारिटी गरेको उनले जानकारी गराए। 

‘नेपालमा एक खर्बभन्दा बढी लगानी गरेका छौं। विदेशमा नेपालीहरुले मासिक ८० खर्ब रुपैयाँ कमाइरहेका छन्। त्यसको १० र २० प्रतिशतमात्रै नेपालमा लगानी गर्न सके देशको समृद्धि यात्रामा सहयोग पुग्ने थियो,’ उनले भने।  

अध्यक्ष केसीले सम्पूर्ण प्रक्रिया पूरा गरेर वैधानिक रुपमा सम्पन्न भएको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भए पनि सरकारले समानान्तर गतिविधिलाई प्रोत्साहित गरेकोमा असन्तुष्टि जनाए। यसमा दलका नेताहरू र सदन नबोलेकोमा उनले दुःख व्यक्त गरे।

‘अघिल्लो पटक समयमा चुनाव हुन नदिन परराष्ट्र मन्त्रालयले हस्तक्षेप गर्यो। हामी अदालत जान बाध्य भयौँ। अदालतले गलत छ भनिसकेपछि एउटा व्यक्ति जिताउन चुनाव हुन नसक्ने प्रयत्न भइरह्यो। त्यसपछि संस्था फुट्न नदिन कम्प्रमाइज गर्यँ। तीनजना अध्यक्ष भयौँ। त्यसपछि ५९ देशबाट प्रतिनिधि चुन्यौँ। अनलाइन भोटिङका लागि भेरो कम्पनी छान्यौँ। अष्ट्रेलियाको संसदको मतदान गराउने कम्पनी हो। संसारका धेरै देशमा चुनाव गर्दा केही समस्या थिएन', उनले भने, 'तीनै उम्मेदवार मिलेर चुनावमा गयौँ। मतदान भयो। तर नतिजा आएपछि उपाध्यक्षको त्रुटि देखियो। त्यसलाई आधा घण्टामै भेरोले क्लियर गर्यो। तर यसैलाई निहुँ बनाएर प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भ्रममा पारियो।'

उनले परिणाम नस्वीकारेर सडकबाट समानान्तर कमिटी घोषणा गर्ने का भएको भन्दै आपत्ति जनाए। 

'सडकबाट समानान्तर कमिटी घोषणा गर्ने, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग फोटो खिचाएर प्रचार गर्ने, विभाजनको बिउ रोप्ने काम भयो। यसै आधारमा संस्था नवीकरणमा पनि परराष्ट्रले सहयोग गरेन', उनले भने, 'अहिले नवीकरणका लागि अदालत जानुपर्यो। यो विषयमा दलहरूले पनि  बोल्नुपर्छ। यो विषयमा किन दलहरू बोलेनन्, संसदमा किन उठेन म, दलका नेताहरुलाई सोध्न चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .