ad ad

समाज


प्रचण्डलाई युगान्डामा स्वागत गर्ने डा. सुधीर रुपरेलिया को हुन्?

प्रचण्डलाई युगान्डामा स्वागत गर्ने डा. सुधीर रुपरेलिया को हुन्?

नेपालखबर
माघ ५, २०८० शुक्रबार १२:३५, काठमाडौँ

अफ्रिकी मुलुक युगान्डामा असंलग्न राष्ट्रहरूको आन्दोलनको १९ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार युगान्डाको राजधानी कम्पला पुगे।

त्यहाँ नेपालीहरूका तर्फबाट उनलाई औपचारिक स्वागत गर्नेमध्ये थिए, डा. सुधीर रुपरेलिया। 

नेपालीसँग मिल्दोजुल्दो नाम भए पनि उनी भारतीय मूलका उद्योगपति हुन्। सरकारले नै उनलाई २०७६ सालमा नेपालका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरेकाले नेपाल र नेपालीका लागि परीआउँदा खटिने व्यक्ति पनि उनै हुन्।

त्यसैले प्रधानमन्त्री प्रचण्डसहितको टोलीको स्वागत सत्कारमा उनले कुनै कमी गरेनन्।

अझ रोचक के भने जहाँ असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन हुँदै छ, त्यो स्थान नै रुपरेलियाको स्वामित्वमा छ।

कम्पलाको स्पेक रिसोर्ट एन्ड कन्भेन्सन सेन्टरमा उक्त सम्मेलन हुँदै छ, जहाँ सहभागी राष्ट्र एवं सरकार प्रमुखसमेत बसेका छन्। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल पनि सोही रिसोर्टमा बसेको छ।

रुपरेलियाकै विशेष अग्रसरतामा बिहीबार त्यही सम्मेलन केन्द्रमा प्रधानमन्त्री प्रचण्डसँग गैरआवासीय नेपालीहरूको अन्तक्र्रिया कार्यक्रम आयोजना गरियो। भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगाण्डा भ्रमण पहिलो रहेको बताउँदै यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी व्यक्त गरे।

उनले भने, ‘युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईँहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईँहरूले केही कुरा उठाउनुभयो। ती महत्त्वपूर्ण छन्। हिजो मात्रै भिजिट भिसाका बारेमा केही महत्त्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ।’

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साललगायतका अधिकारी पनि उपस्थित थिए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युगाण्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताइन्।

फोर्ब्स म्यागेजिनका अनुसार, रुपरेलिया युगान्डाका सबैभन्दा धनी व्यक्ति हुन्। उनीसँग १ अर्ब २० करोड डलरबराबरको सम्पत्ति छ।

रुपरेलिया समूहका संस्थापक रहेका उनका होटल, क्लबलगायत देशभरमा २ सयभन्दा बढी व्यावसायिक प्रतिष्ठान सञ्चालनमा छन्। करिब ४ दशकको अवधिमा उनले यो व्यावसायिक साम्राज्य निर्माण गरेका हुन्।

पछिल्लो समय युगान्डामा नेपालीहरूको संख्या बढ्दै गएको छ। दूतावासमा काम पर्दा निकै टाढा रहेको इजिप्टस्थित नेपाली दूतावासमा सम्पर्क गर्नुपर्ने अवस्था छ। रुपरेलिया अवैतनिक वाणिज्यदूत नियुक्त भएपछि नेपालीलाई निकै सहज भएको गैरआवासीय नेपाली समुदायको अनुभव छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .