आज (बुधबार) दिउँसो काठमाडौँ उपत्यकामा छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यकामा अहिले मौसम सामान्य बदलीको अवस्था छ। गएराति पनि उपत्यकाका केही ठाउँमा छिटपुट वर्षा भएको थियो।
‘आज अपरान्हपछि काठमाडौँ उपत्यकामा छिटपुट वर्षा हुने सम्भावना छ,’ महाशाखाकी मौसमविद् गंगा नगरकोटीले नेपालखबरसँग भनिन्, ‘तर, उपत्यकाको सबैक्षेत्रमा वर्षाको सम्भावना छैन, केही ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्छ।’
पश्चिमी वायुको प्रभावको कारण आज देशका अधिकांश पहाडी भूभागको मौसम बदली भएको छ। आज पहाडी भूभागका केही ठाउँमा वर्षा र हिमपातकोसमेत सम्भावना रहेको नगरकोटीले बताइन्।
मंगलबारको तुलनामा आज काठमाडौँ उपत्यकामा चिसो पनि बढेको छ।
मंगलबार काठमाडौँको न्यूनतम तापक्रम पाँच डिग्री सेल्सियस मापन गरेको महाशाखाले आज बिहानको न्यूनतम तापक्रम ४.५ डिग्री मापन गरेको छ।
बुधबार दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाको छ।
Shares
प्रतिक्रिया