बालयौन दुरुपयोग मुद्दामा जिल्ला अदालत सर्लाहीले थुनामा पठाउने आदेश भएपछि आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई जलेश्वर कारागारमा चलान गरिने भएको छ।
मंगलबार राति काठमाडौँबाट पक्राउ परेका ‘तपस्वी’ बम्जनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
जिल्ला अदालत सर्लाहीमा बिहीबार नै बम्जनको बयान लिएपछि थुनछेकको बहस सकेर न्यायाधीश रेग्मीले बम्जनलाई थुनामा पठाउन आदेश दिएका थिए।
अदालतको आदेशपछि अब बम्जनलाई महोत्तरीको जलेश्वर कारागारमा लैजान लागिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई सडक मार्ग हुँदै गएराति २ बजे मलंगवास्थित सर्लाही जिल्ला प्रहरी कार्यालयमा पुर्याएको थियो।
आफ्नो आश्रममा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दा बम्जनमाथि थियो।
बाराको निजगढ नगरपालिका-१२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो।
तर बम्जनविरुद्ध अर्को मुद्दा पनि गृहजिल्ला बारामा छ। बाराको रतनपुरी जंगलस्थित आश्रमबाट एकजना अनुयायीलाई बेपत्ता बनाएको आरोपसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ।
प्रहरीले अनुयायी बेपत्ता पारेको भनेर परेको उक्त मुद्दामा पनि अनुसन्धान अघि बढाउने तयारी गरेको छ। त्यसका लागि जिल्ला प्रहरी कार्यालय बाराले उपस्थित गराउन आग्रहसहित बिहीबार नै सर्लाही प्रहरीलाई पत्र लेखिसकेको छ।
Shares

प्रतिक्रिया