ad ad

समाज


कुकुरलाई सडकमा शौच गराउनेहरुलाई महानगरले थाल्यो कारबाही

कुकुरलाई सडकमा शौच गराउनेहरुलाई महानगरले थाल्यो कारबाही

नेपालखबर
पुस २४, २०८० मंगलबार १६:४, काठमाडौँ

तपाईंले आफ्नो घरमा पालेका कुकुरलाई बिहान होस् अथवा साँझ, सार्वजनिक स्थानमा शौच गराउँदै आउनुभएको छ भने सचेत रहनुहोस्।

काठमाडौँ महानगरपालिकाले यसविरुद्ध कारबाही सुरु गरेको छ।

अब कुनै पनि समय यसरी सार्वजनिक ठाउँमा कुकुर डोर्‍याउँदै ल्याएर शौच गराउनेलाई कारबाही हुने भएको छ।

हुन त यसअघि पनि बेलाबेला काठमाडौँ महानगरपालिकाले यस्तो कार्य नगराउन सचेत गराउँदै आएको हो।

४ वर्षअघि पनि महानगरपालिकाले यसरी सार्वजनिक स्थलमा कुकुरलाई शौच गराए कुकुरधनीविरुद्ध कारबाही गर्ने घोषणा गरेको थियो। तर, महानगरपालिका कारबाहीमै भने उत्रिएको थिएन।

यसपालि भने सोमबारबाटै महानगर प्रहरी परिचालन गरी कारबाही थालिएको छ। पहिलो दिनमा ५ कुकुरधनीलाई कारबाही गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। 

 

काठमाडौँ महानगरपालिकाले विभिन्न वडामा रहेका टोल सुधार समिति तथा क्लबहरूलाई परिचालन गरेर सचेतना कार्यक्रम पनि गरिरहेको छ।

कुकुरधनीहरूले सार्वजनिक स्थानमा कुकुरलाई शौच गराउने कार्य बन्द नगरेपछि अहिले कुकुर जफत गरिएको पाण्डेको भनाइ छ।

सार्वजनिक ठाउँमा ल्याएर कुकुरलाई शौच गराए पनि फोहोर उठाउनुपर्ने र झोला साथमै ल्याउनुपर्ने महानगरपालिकाको नियम छ।

पहिलो दिन अनामगर आसपासबाट कुकुर जफत गरिएपछि आज मंगलबार त्यस क्षेत्रमा बिहानैबाट सार्वजनिक स्थानमा कुकुरलाई शौच गराउँदै गरेको दृश्य नदेखिएको पाण्डेले बताएका छन्।

कुकुरको मलमूत्रसँगको लसपसबाट परजीवी जुका तथा पाचन प्रणालीमा असर गर्ने जियार्डियासिस, साल्मोनेलिस र अमिबियासिसजस्ता रोगको संक्रमण फैलने केन्द्रीय पशु चिकित्सालयले जनाएको छ।

चिकित्सकहरूका अनुसार, कुकुरको दिसामा हुने इकाइनोकोकस ग्रानुलोसस भनिने एक प्रकारको फित्तेजुकाको अण्डा मानिसको खानेकुरामा पुगेमा कलेजो, फोक्सो, मिर्गौला वा मस्तिष्कमा पनि सिस्टको रूपमा विकसित हुने सम्भावना रहन्छ। कुनैकुनै अवस्थामा त्यसले जटिल शल्यक्रिया गराउनुपर्ने स्थिति निम्त्याउने डा. ग्रीष्म न्यौपाने बताउँछन्। 

सोमबार अनामनगर आसपासमा कुकुर जफत गर्दै गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। महानगर प्रहरी टोलमा पुगेर कुकुर जफत गर्दा अन्य स्थानीयले साथ दिएका छन्। उनीहरूले घरमा पालेको कुकुरलाई घरमै शौच गराउन भनेका छन्। त्यति मात्रै होइन, उनीहरूले हरेक दिन छड्के जाँच गर्नसमेत सुझाव दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .