वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै १४ जना युवाबाट २१ लाख बढी रकम उठाउने समूहका एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–२ घर भई हाल काठमाडौंको बाङगेमुढा बस्ने वर्ष ५० को ढालबहादुर बुढाथोकी रहेका छन्।
प्रहरीका अनुसार सो समूहले मिलन नेपाली समेत १४ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ, रोमानिया पुगेपछि फुड प्याकिङमा काम लगाइदिन्छु, मासिक एक लाख रुपैयाँ भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाएका थिए।
प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी जम्मा रु। २१ लाख ३६ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा ढालबहादुरलाई बुधबार असनबाट पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया