ad ad

समाज


बालकुमारी घटनामा सहमति : पीडित परिवारले शव बुझ्ने, सरकारले सहिद घोषणा गर्ने

परिवारका एक-एकजनालाई रोजगारी दिइने
बालकुमारी घटनामा सहमति : पीडित परिवारले शव बुझ्ने, सरकारले सहिद घोषणा गर्ने

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०८० सोमबार १७:४३, काठमाडौँ

यही शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीसँग भएको झडपमा ज्यान गुमाएका दुईजना युवाका परिवार र सरकारबीच सहमति भएको छ।

शुक्रबार ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषय भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतका परिवारले सरकारसँग ४ बुँदे सहमति गरेका हुन्।

सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारका प्रतिनिधिबीचको वार्तापछि उक्त चार बुँदे सहमतिमा हस्ताक्षर भएको हो।

सहमतिअनुसार सरकारले मृतक दुवै युवाका परिवारसँगको सल्लाहमा १/१ जनालाई उपयुक्त रोजगारी यथाशिघ्र उपलब्ध गराउने भएको छ।

त्यसैगरी सरकारले घोषणा गरेको जनही १०/१० लाख रुपैयाँ राहत पनि यथाशिघ्र उपलब्ध गराउने प्रतिबद्धता सरकारले गरेको छ।

सहमतिअनुसार मृतक वीरेन्द्र र सुजनलाई सहिद घोषणा गर्न आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने भएको छ।

सहमतिपछि मृतकका परिवारले सोमबार नै शव बुझिलिने भएका छन्। मृतकहरूको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुऱ्याउने व्यवस्था गृहमन्त्रालयले गरिदिने भएको छ।

यसैबीच दुई युवाको ज्यान गएको घटना छानबिनका लागि सोमबारको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको छ। सरकारले यसअघि नै मृतकका परिवारका सदस्यलाई प्रतिपरिवार १० रुपैयाँ दिने निर्णय पनि गरेको छ।

सहमति
१. मृतकका परिवारलाई परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने।

२. सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने।

३. मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने।

४. मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुऱ्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .