काठमाडौँको बल्खुस्थित बोक्सीदह डाँडामा २०७४ सालमा एक महिलाको हत्या गरी फरार भएका दुई जनालाई नेपाल प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ।
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले २०७४ पुस ३० गते बल्खुस्थित बोक्सीदह डाँडामा नारायणी तिमल्सिनाको हत्या गरी फरार भएका दुईजनालाई पक्राउ सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला सीतगङ्गा नगरपालिका–१४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–३ का ४६ वर्षीय शिवराम अधिकारी रहेका छन्।
पत्रकार सम्मेलनमा अनुसन्धान अधिकृत सुरक्षा केसीले हत्या गरेपछि विदेश फरार रहेका विश्वकर्मालाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको जानकारी दिइन्।
अधिकारी भने चोरी मुद्दामा विसं २०७९ कात्तिक २९ गते पक्राउ परी तीन वर्ष कैद सजाय पाएर हाल केन्द्रीय कारागार सुन्धारामा रहेको प्रहरीले जनाएको छ।
अधिकारीले मृतक तिमल्सिनालाई भूपु आर्मीसँग विवाह गराइदिने प्रलोभन देखाएर रू १५र२० हजारसहित गरगहना लगाई आउनु भन्दै फोन गरी बोलाएको र बल्खु खोलामा लगेर हत्या गरेको अनुसन्धानको क्रममा खुलेको छ।
केसीका अनुसार विश्वकर्मासँग अधिकारीको तिमल्सिनाको हत्या गर्ने दिन मात्रै चिनजान भएको थियो। रासस
Shares

प्रतिक्रिया