समाज


भद्रकालीदेखि माइतीघर र बानेश्वरसम्मको निषेधाज्ञा लम्बियो, ५ जनाभन्दा बढी भेला हुन नपाइने

भद्रकालीदेखि माइतीघर र बानेश्वरसम्मको निषेधाज्ञा लम्बियो, ५ जनाभन्दा बढी भेला हुन नपाइने

नेपालखबर
पुस ४, २०८० बुधबार १९:३६, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भद्रकालीदेखि पद्मोदय मोड, माइतीघर र बानेश्वरसम्मको निषेधाज्ञा थप दुई महिनासम्मका लागि लम्ब्याएको छ। 

बुधबारदेखि लागू हुने गरी यस क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन नपाइने गरी  निषेधाज्ञा जारी गरेको हो।

यस्तै राष्ट्रपति कार्यालय शीतल निवास आसपास र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आसपास दुई महिनाका लागि पाँचजनाभन्दा धेरै भेला हुन नपाउने गरी जारी गरिएको निषेधाज्ञाको अवधि पनि थप गरिएको छ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, उपराष्ट्रपतिको कार्यालय, सिंहदरबार, संसद् भवनलाई लक्षित गरेर निषेधाज्ञा थप गरेको सूचना जारी गरेका हुन्। 

प्रजिअको आदेशमा अतिविशिष्ट पदाधिकारीको निवास, कार्यालय वा मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरुमा भेला जम्मा भएर अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू गर्दा शान्ति सुरक्षा भङ्ग हुन सक्ने भएकाले यस्तो निर्णय लिइएको उल्लेख छ। 
यस्ता गतिविधिले शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्नुका साथै सर्वसाधारण नागरिकको सेवा प्रवाहका लागि प्रयोग हुने मुख्य मार्गका सार्वजनिक सेवा प्रदायक निकाय र महत्वपूर्ण प्रतिष्ठानहरूको काममा असर पर्ने भएकाले यस्तो आदेश जारी गरिएको बस्नेतले उल्लेख गरेका छन्।

उक्त आदेशमा सार्वजनिक सम्पत्ति संरक्षण एवम् सुरक्षा र एम्बुलेन्स, दमकल, अस्पताल, खानेपानी लगायत अत्यावश्यक सेवा तथा सेवा प्रवाहका लागि प्रयोग हुने मुख्य मार्ग, अत्यावश्यक आपूर्ति व्यवस्थापनसँग सम्बन्धित दुई वा सो भन्दा बढी जिल्ला जोड्ने राजमार्गमा सार्वजनिक यातायात अवरूद्ध हुने अवस्थालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरीएको उल्लेख छ।

बस्नेतले बुधबारदेखि नै लागु हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, घेराउ, सभा जस्ता आन्दोलन र विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेशमा उल्लेख गरेका छन्। 

निषेधाज्ञा जारी भएको क्षेत्र

  • शीतल निवास (राष्ट्रपति कार्यालय) को निषेधित क्षेत्र : पूर्व पुरानो पवित्र वर्कशप चोक, पश्चिम सामाखुसी निस्किने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट र दक्षिण प्रहरी अस्पताल जाने मोडसम्म।

  • प्रधानमन्त्री निवास वालुवाटारको निषेधित क्षेत्र : पुरानो पवित्र वर्कशप चोकबाट रसियन राजदुतावास हुँदै इटालिया चोक, सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण सय मिटर, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने सय मिटर पश्चिम, राष्ट्रबैंक चोकबाट पूर्वतर्फ सय मिटर, इटालिया चोकबाट ५० मिटर दक्षिणसम्म।

  • संसद् भवन नयाँ बानेश्वरको निषेधित क्षेत्र : संसद् भवन र परिसर दक्षिणतर्फको पेटीसँग जोडिएको सर्भिस ट्र्याकसम्मको भाग, संसद् भवनको पश्चिमतर्फको थापागाउँ जाने बाटोको दक्षिण किनारादेखि नयाँ बानेश्वर चोकसम्मको सम्पूर्ण सडकखण्ड, संसद् भवनको दक्षिण पूर्वी किनाराको सर्भिस ट्र्याक हुँदै नयाँ बानेश्वर चोकदेखि ७५ मिटर पश्चिमसम्मको सर्भिस ट्र्याकसम्म।
  • सिंहदरबारको निषेधित क्षेत्र : भद्रकाली मन्दिरपूर्व तीनकुने आइल्याडको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूलगेटसम्म, पद्मोदय मोडदेखि सिंहदरबार मूलगेटबाट सर्वोच्च अदालत हुँदै माईतीघर मण्डलसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालयअगाडि हुँदै अनामनगर जाने सिंहदरबारको उत्तरपूर्वी मोड र उक्त मोडबाट सिंहदरबार पूर्वीगेट हुँदै हनुमानस्थान मन्दिरसम्म, माइतीघर मण्डलदेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, बबरमहलस्थित जिल्ला अदालत मोडदेखि जिल्ला प्रशासन कार्यालय हुँदै हनुमानस्थान मन्दिर जाने बाटोसम्म।
  • हरित गृह (उपराष्ट्रपति कार्यालय) को निषेधित क्षेत्र : केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म।
  • माइतीघर मण्डलादेखि बानेश्वरचोकसम्मको निषेधित क्षेत्र : माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad