ad ad

समाज


‘पनौती’ शब्द भारतमा बदनाम भएपछि मेयर भण्डारीले भने : गलत अर्थ लगाउँदा चित्त दुख्यो

‘पनौती’ शब्द भारतमा बदनाम भएपछि मेयर भण्डारीले भने : गलत अर्थ लगाउँदा चित्त दुख्यो

तस्बिर : नेपालखबर


नेपालखबर
पुस २, २०८० सोमबार १८:५१, काठमाडौँ

केही महिनाअघि भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचनाका क्रममा ‘पनौती’ शब्दको प्रयोग गरे।

भारतले घरेलु भूमिमा भएको फाइनलमा विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई सुम्पिन बाध्य भएपछि मोदी ‘पनौती’ निस्केकाले यस्तो हुन पुगेको भन्दै गान्धीले आलोचना गरेका थिए। 

उक्त शब्द भारतमा नकारात्मक दृष्टिकोणबाट भाइरल भएपछि चर्चित टेलिभिजन पत्रकार रविश कुमारले नेपालको काभ्रेस्थित पनौती नगरको एउटा भिडिओ रिपोर्टसहित चर्चा गरेका थिए।

धार्मिक एवम् सांस्कृतिक केन्द्र पनौतीबारे रविश कुमारको उक्त भिडिओ सामाग्रीले भारतमा चर्चा कमाएको थियो। पनौतीको चर्चा गरिदिएकोमा उनलाई नेपालीहरूले धन्यवादसमेत दिए।

उक्त ‘पनौती’ शब्दलाई नकारात्मक र कुलक्षणको अर्थमा भारतमा प्रयोग भएर भाइरल भएपछि नेपालमा भने त्यसलाई लिएर चित्त दुखाइएको छ।

पनौती नगरपालिकामा दुई दिनअघि आयोजित ‘सञ्चारकर्मी पनौती यात्रा एवम् पर्यटन विमर्श’ अन्तर्क्रियाका वक्ताहरूले पुण्यभूमिका पनौतीको नामलाई गलत अर्थमा प्रयोग नहुने बताएका छन्। 

उक्त नगरपालिकाका मेयर रामशरण भण्डारीले भारतमा राजनीतिदेखि खेलसम्म जोडेर पनौती शब्दलाई नकारात्मक रुपमा ब्याख्या गरिँदा आफूहरूको चित्त दुखेको सुनाए।

‘भारतमा राजनीतिदेखि खेल जगतसम्म पनौतीलाई कुलक्षणका रूपमा प्रयोग गर्ने गरिएको छ, जुन हाम्रा लागि आपत्तिजनक छ’, उनले भने, ‘नेपालमै पनि नबुझेर पनौतीलाई नकारात्मक तरिकाले प्रयोग गरिनु झन् दु:खद् पक्ष हो।’

भण्डारीले पनौती इतिहास, संस्कृति र धर्मका दृष्टिले महत्त्वपूर्ण सहर रहेको बताए। 

घुम्न र यसको इतिहास अध्ययनका लागि विदेशीहरू धाएर आउने गरेको उनले बताए। 

‘शताब्दी पहिले निर्मित ब्रह्मायणी मन्दिर, गाउँको प्रमुख देवीका रूपमा रहेको छ’, उनले भने, ‘यहाँको त्रिवेणीमा तीन नदी भेट हुन्छन्। रोशी, पुण्यमाता र सबैले देख्न नसक्ने रुद्रावती मिसिन्छन्।’

नेपालमा असाध्यै प्रचलित पर्व, योमरी पूर्णे पनि पनौतीबाटै सुरु भएको उनले बताए। ऐतिहासिक सहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन स्थानीयदेखि केन्द्र सरकारबाट पहल भइरहेको उनले बताए। 

चाँडै यसमा सफलता मिल्ने विश्वास उनले व्यक्त गरे। आगामी दिनमा पनौतीको थप प्रचार गर्दै बढीभन्दा बढी पर्यटकमाझ चिनाउने योजना रहेको उनले सुनाए।

पनौती नगरपालिका ५ का वडाध्यक्ष भीमप्रचाद आचार्यले पनौती पर्यटकीयस्थल मात्रै नभएर प्राचीन तीर्थस्थल पनि रहेको बताए। 

‘पन्ध्रौँ-सोह्रौँ शताब्दीतिर लेखिएको मानिने काठमाडौँ उपत्यकाको प्रसिद्ध तीर्थग्रन्थ नेपाल माहात्म्यअनुसार १६६ पवित्र तीर्थस्थलको सूचीमा पनौती नवौँ नम्बरमा पर्छ। यहाँ प्रत्येक १२ वर्षमा मकर मेला लाग्ने गरेको छ’, उनले भने।

कार्यक्रमका वक्ता पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्मचार्यले ज्या पुन्ही, मकर मेला, योमरी पुन्ही, देवी नाच पनौतीका प्रमुख जात्राहरू रहेको बताए। पुराना ऐतिहासिक र पुरातात्मिक संरचनाहरू पनि रहेको उनले सुनाए।

पनौतीले इतिहासदेखि नै आफ्नो एक विशिष्ट पहिचान बनाएको उनले बताए।

यसैगरी स्थानीय पर्यटन व्यवसायी राजन थापाले पनौतीमा घुम्न सकिने ठाउँहरूबारे जानकारी दिए। ‘पनौतीमा पर्यटनको महत्त्व त छँदै छ । त्यसमा पनि साहसिक पर्यटनका लागि अति उपयुक्त ठाउँ हो । प्याराग्लाइडिङ, रक क्लाइम्बिङजस्ता खेल यहाँ गर्न सकिन्छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .