समाज


अन्तरजातीय प्रेम गर्दा मारिएका नवराज विकका बुवा काठमाडौँमा, शुक्रबार रत्नपार्कमा र्‍याली र सभा

अन्तरजातीय प्रेम गर्दा मारिएका नवराज विकका बुवा काठमाडौँमा, शुक्रबार रत्नपार्कमा र्‍याली र सभा

नवराज विका बुवा मुनलाल नेपाली (बायाँ)


नेपालखबर
मंसिर २८, २०८० बिहिबार २२:१९, काठमाडौँ

साढे ३ वर्षअघि रुकुमपश्चिममा गैरदलित प्रेमिकासँग प्रेमविवाह गर्न खोज्दा ५ जना साथीसँगै मारिएका नवराज विकका बुवा काठमाडौँ आएका छन्। 

उक्त हत्याकाण्डमा हालै रुकुम जिल्ला अदालतले चौरजहारी नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैद सजाय हुने फैसला गरेपछि यसका लागि आवाज उठाउने देशभरका न्यायप्रेमीलाई धन्यवाद ज्ञापन गर्न नवराजका बुवा मुनलाल नेपाली केन्द्रीय राजधानी आएका हुन्।

साथमा सोही घटनामा मारिएका लोकेन्द्र सुनारकी आमा पनि काठमाडौँ आएको ‘दलितका लागि दलित’का प्रमुख खगेन्द्र सुनारले जानकारी दिएका छन्। 

उनका अनुसार काठमाडौँमा कार्यक्रम गरी न्यायका पक्षमा आवाज बुलुन्द गर्ने न्यायप्रेमीलाई धन्यवाद र कृतज्ञता प्रकट गर्न मृतकका अभिभावक यहाँ आएका हुन्। 

कार्यक्रम भोलि शुक्रबार दिउँसो ३ बजे रत्नपार्कस्थित शान्तिवाटिकामा आयोजना गरिने सुनारले जानकारी दिएका छन्।

त्यसअघि दिउँसो २ बजे भृकुटीमण्डपबाट र्‍याली निकालिनेछ। कार्यक्रममा सहभागिताका लागि आयोजकले सार्वजनिक सूचना गरी सबैलाई आह्वान गरेको छ। 

यसअघि रुकुम हत्याकाण्डमा मारिएकाका परिवारले न्यायका पक्षमा फैसला गरेको भन्दै रुकुम पश्चिम अदालतको गेटमा पुष्पवर्षा गरेर कृतज्ञता प्रकट गरेका थिए भने जाजरकोटमा पनि न्यायप्रेमीका लागि धन्यवाद सभा आयोजना गरेका थिए।

सोही सिलसिलामा शुक्रबार काठमाडौँमा पनि कार्यक्रम आयोजना गर्न लागिएको हो।

शुक्रबारको कार्यक्रम तयारीका विषयमा आज कुपण्डोलस्थित राष्ट्रिय दलित आयोगमा छलफल गरिएको थियो। 

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुमपश्चिमको सोतीगाउँ पुगेका थिए।

त्यस क्रममा सोती गाउँका गैरदलित बासिन्दाले आक्रमण गरी नवराजसहित ६ जनाको हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए। 

सोती गाउँ गएका नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो। उनीहरूका शव भेरी नदीमा भेटिएका थिए। सबै शव संकलन गर्न २ साता लागेको थियो।

यसपछि नवराजका बुबा मुनलाल नेपालीले दिएको जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

तीमध्ये किशोरी (नवराजकी प्रेमिका) की आमा धरौटी र अन्य १० अभियुक्त सामान्य तारेखमा रिहा भएका थिए भने २३ जना पुर्पक्षका लागि कारागारमा थिए।

३४ अभियुक्तमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियार बनेको अभियोग थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .