समाज


सांसद लक्ष्मी महतो कोइरीलाई कारबाही माग गर्दै थमन विककी श्रीमती काठमाडौँमा

सांसद लक्ष्मी महतो कोइरीलाई कारबाही माग गर्दै थमन विककी श्रीमती काठमाडौँमा

छोराका साथमा शोभा गहतराज काठमाडौँमा


नेपालखबर
मंसिर २४, २०८० आइतबार ९:१५, काठमाडौँ

मधेश आन्दोलनका क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विककी श्रीमती शोभा गहतराज न्याय माग्दै काठमाडौँ आइपुगेकी छन्। 

थमनको हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई कारबाहीको दायरामा नल्याइएको भन्दै सरकारको ध्यानाकर्षण गराउन उनी शनिबार काठमाडौँ आइपुगेकी हुन्। 

‘मेरो श्रीमान्‌लाई एम्बुलेन्सबाट थुतेर लखेटीलखेटी मार्ने व्यक्तिबारे किटानी जाहेरी सबैतिर दिएको थिएँ’, शोभाले नेपालखबरसँग भनिन्, ‘तर, हत्यामा संलग्न र मुख्य योजनाकार लक्ष्मी महतो कोइरीलाई टिकट दिएर जिताएर पठाए, अहिले फरार रहेको भन्छन्।’ 

‘हत्यारा लुकाइएपछि न्याय दिलाउन र सरकारलाई सुनाउन काठमाडौँमै आउनु पर्‍यो, दोषीलाई कारबाहीमा ल्याउन कसले रोकेको छ? सरकारलाई सोध्नुछ।’

उनी यो ठिहिर्‍याउँदो चिसोमा छोराे लिएर काठमाडौँ आइपुगेकी हुन्। 

छोराका साथमा शोभा गहतराज काठमाडौँमा

सशस्त्र प्रहरी बल महोत्तरी जलेश्वरमा कार्यरत सहायक निरीक्षक थमन विकलाई ०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा आन्दोलनकारीले निर्घात कुटपिट गरेका थिए। गम्भीर घाइते उनलाई अस्पताल लाने क्रममा एम्बुलेन्सबाट पनि थुतेर हत्या गरिएको थियो। 

हत्यालगत्तै उनकी पत्नी शोभाले किटानी जाहेरी दिएकी थिइन्।

‘अब न्याय पाउने निश्चित नभई घर फर्कन्न, मिलेसम्म गृहमन्त्रीसँग पनि भेट्छु, नौ वर्षसम्म घटनाको दोषी किन पक्राउ परेनन्’, उनले थपिन्।

शोभाको परिवारमा हाल सासू र एक छोरा छन्।

पति थमनको हत्यारालाई कारबाही गर्न सबैलाई गुहारेको उनले बताइन्।

‘सबैतिर किटानी जाहेरी दिएँ, केही पक्राउ पनि परे तर, मुख्य व्यक्ति पक्राउ नै भएनन्, मलाई कुनै पनि बेला थ्रेट दिन सक्छन् भन्ने डर छ’, शोभाले थपिन्। 

छोराका साथमा शोभा गहतराज काठमाडौँमा

नेकपा एमालेले टिकट दिएपछि गत मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा कोइरी महोत्तरी–१ बाट निर्वाचित भएका थिए। उनले पुस ७ गते सांसदको शपथ खाए। केही समय संसद्‌मा उपस्थित पनि भए। तर, प्रहरीले पक्राउ गरेन। 

नेपाल प्रहरी प्रधान कार्यालयले कोइरीले शपथ लिएकै दिन पुस ७ गते उनलाई लागेको हत्या अभियोगबारे प्रतिनिधिसभालाई लिखित जानकारी गराएको थियो। त्यस दिन उनले दिउँसो १ बजे शपथ लिएका थिए भने दिउँसो २ बजे प्रहरीको पत्र संसद्‌मा पुगेको थियो।

तर कोइरी फरार रहेको पत्र संसद् सचिवालमा पठाएपछि गएको वैशाख १९ गतेदेखि उनी निलम्बित छन्। 

थमन हत्याका अभियुक्त कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ तर उनी फरार छन्।

के हो घटना? 
२०७२ सालको मधेश आन्दोलनका बेला मधेशी जनाधिकार फोरममा महोत्तरीका प्रभावशाली नेता मानिन्थे- कोइरी।

२०७२ भदौ २५ गते सीमा सुरक्षा कार्यालय जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका सहायक निरीक्षक विकको बीभत्स हत्या भयो। झडपमा घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाटै थुतेर धानखेतमा लखेटीलखेटी मारिएको थियो।

उनको हत्याको नेतृत्व कोइरीले नै गरेको अभियोग छ। उनीसहित २८ जनालाई हत्याको अभियोग लागेको थियो।

यही मुद्दामा जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ कोइरीलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। जसलाई उच्च अदालत पाटनको २०७७ मंसिर १९ गतेको आदेशले उल्टाएको थियो। जसमा महतोलाई थुनामै राखेर मुद्दा अगाडि बढाउन भनिएको छ। त्यसपछि कोइरी फेरि फरार भए।

कोइरीविरुद्धको मुद्दा महोत्तरी जिल्ला अदालतमा विचारधीन छ। फरार अवस्थामै कोइरी जनता समाजवादी पार्टी (जसपा) छाडेर चुनावको केही दिनअघि एमालेमा प्रवेश गरेर प्रतिनिधिसभा सदस्य निर्वाचन लडे र जिते। 

पार्टी बदलेर महोत्तरी–१ मा उनले वारेसमार्फत उम्मेदवारी दिएका थिए। पक्राउ पर्ने डरले उनी खुलेर प्रचारप्रसारमा पनि सहभागी भएका थिएनन्। 

चुनावमा २३ हजार ४०२ मतसहित उनी विजयी भए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सचिव गिरिराजमणि पोखरेलले २२ हजार ३७२ मत पाएका थिए।

मतगणना र विजयी घोषणासभामा पनि कोइरी देखा परेनन्। उनले निर्वाचित भएको प्रमाणपत्र पनि वारेसमार्फत नै बुझेका थिए।

शोभा र उनका छाेराका थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .