समाज


केन्द्रीय कारागारमा ३१ देशका २६१ कैदीबन्दी, कुन मुद्दाका धेरै छन्?

केन्द्रीय कारागारमा ३१ देशका २६१ कैदीबन्दी, कुन मुद्दाका धेरै छन्?

नेपालखबर
मंसिर २०, २०८० बुधबार ५:३०, काठमाडौँ

मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दीलाई राखिएको छ। विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो।

विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा हाल तीन हजार चार सय ६९ कैदीबन्दी रहेकामध्ये दुई सय ६१ विदेशी कैदीबन्दी रहेको कारागार प्रशासक ललितकुमार बस्नेतले जानकारी दिए। 

केन्द्रीय कारागारमा हाल ३१ देशका कैदीबन्दी छन्। जसमा भारतीय एक सय ३५, चिनियाँ २९, पाकिस्तानका १७, दक्षिण अफ्रिकाका १४, बगङ्लादेशका नौ, थाइल्याण्डका आठ, बोलिभियाका पाँच, मलेसियाका चार, फिलिपिन्सका तीन, अमेरिकाका तीन, जर्मनीका तीन, सुडानका तीन रहेका छन्। 

त्यसैगरी साउदी अरब, सुडान, हङकङ, बेलारुस, नर्वेलगायतका देशका एक÷एक जना कैदीबन्दी केन्द्रीय कारागारमा रहेका कारागार प्रशासक बस्नेतले बताए।

विदेशी कैदीबन्दीमध्ये लागूऔषधका धेरै
कारागार प्रशासक बस्नेतका अनुसार केन्द्रीय कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये लागूऔषध मुद्दाका कैदीबन्धी धेरै छन्।

एक सय १३ विदेशी नागरिक अवैध लागुऔषध ओसारपसारमा संलग्न रहेकाले कारागार बसेका छन् । त्यसैगरी जबरजस्ती करणीमा ३३ विदेशी नागरिक जेल परेका छन्। त्यसबाहेक अवैध रुपमा सुन ओसारपसारमा २५, ठगी मुद्दामा १६, कर्तव्य ज्यानमा १०, अपहरणमा आठ, जीउ बेच्ने मास्नेमा सात र विविध मुद्दामा २५ विदेशी नागरिक जेल परेका छन्।

नेपालकै सबैभन्दा पुरानो र ठूलो कारागार सुन्धारामा स्थान अभावका कारण ५६ कैदीबन्दीलाई भर्खरै नख्खु कारागार स्थानान्तरण गरिएको छ। नख्खु स्थानान्तरण गरिएका कैदीबन्दीमध्ये ५४ नेपाली र दुई विदेशी रहेका छन्। केन्द्रीय कारागारको क्षमता एक हजार सात सय रहेपनि हाल तीन हजार चार सयभन्दा बढी कैदीबन्दी हुँदा साँघुरो भएको छ।

तीन वटा कारागार भवन रहेको केन्द्रीय कारागारमा केन्द्र जेलमा एक हजार आठ सय ६६, भद्र जेलमा एक हजार एक सय ३९ र महिला जेलमा चार सय ६४ कैदीबन्दी रहेका छन् । महिला जेलमा ११ नाबालक कैदीबन्दीसँगै रहेको केन्द्रीय कारागार व्यवस्थापनले जनाएको छ।

कारागार प्रशासक बस्नेत काठमाडौँमा उपचारका लागि विभिन्न जिल्लाबाट कैदीबन्दी स्थानान्तरण हुँदा केन्द्रीय कारागारमा कैदीबन्दीको सङ्ख्या बढ्न गएको बताउछन्। 

अड्डा अदालतदेखि उपचारका लागि विभिन्न अस्पताल काठमाडौँमा हुँदा विभिन्न जिल्लाबाट केन्द्रीय कारागार आउने कैदीबन्दी बढेका उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .