मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको घटनालाई लिएर पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा सडकखण्ड आइतबार तनावग्रस्त बनेको छ।
मोटरसाइकल दुर्घटना गराउने व्यक्तिको पहिचान गरी कारबाहीको माग गर्दै स्थानीयवासीले बिहानैदेखि अवरुद्ध पारेको सडक खुलाउने क्रममा प्रहरीमाथि ढुंगा प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको हो।
स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए। यस क्रममा प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रयोग गरेको थियो। ढुंगा प्रहारबाट प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टसहित केही प्रहरी सामान्य घाइते भएका छन्।
लम्कीचुहा सडकखण्ड अवरुद्ध हुँदा यातायात आवागमन बिहानैदेखि ठप्प छ। शुक्रबार राति सो सडकखण्डमा से२प१८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लम्की चुहानगरपालिका–६ का मायाराम चौधरीको मृत्यु भएको थियो। प्रहरीले उक्त मोटरसाइकललाई ठक्कर दिएको आशंकामा एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ। अहिले समस्या समाधानका लागि सर्वपक्षीय बैठक बसिरहेको छ। रासस
Shares

प्रतिक्रिया