ad ad

समाज


यातायातमा ७० करोड भ्रष्टाचार : तत्कालीन प्रमुखसहित पाँचजनालाई पक्राउ गरेर जेल पठाइयो

यातायातमा ७० करोड भ्रष्टाचार : तत्कालीन प्रमुखसहित पाँचजनालाई पक्राउ गरेर जेल पठाइयो

भ्रष्टाचार मुद्दामा दोषी ठहर भइ पक्राउ परेकाहरू। तस्बिर : मोरङ प्रहरी


नेपालखबर
मंसिर १९, २०८० मंगलबार १६:२८, काठमाडौँ

राजस्व रकम हिनामिनासम्बन्धी मुद्दामा दोषी ठहर भएर कैद सजाय तोकिएका यातायात कार्यालयका पाँचजना पूर्वकर्मचारी पक्राउ परेका छन्।

यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालीन प्रमुख नयराज नेपाल र लेखापाल मणिराज दाहालसहित पाँचजनालाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सोमबार पक्राउ गरेको हो।

नेपाल र दाहालसहित कर्मचारीहरू कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

पक्राउ परेका उनीहरूलाई अदालतमा उपस्थित गराएर कैद सजाय भुक्तानका लागि जिल्ला ‍कारागार कार्यालय मोरङमा चलान गरिएको उनले बताए।

उनीहरूलाई विशेष अदालतले २०७९ चैत ८ गते भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसूरमा दोषी ठहर गर्दै जरिवाना र सजाय तोकेको थियो।

उक्त मुद्दामा तत्कालीन कार्यालय प्रमुख नेपाललाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ जरिवाना तोकेको थियो।

लेखापाल दाहालललाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ जरिवानाको फैसला विशेषले सुनाएको थियो।

कटुवालललाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ जरिवाना, अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवाना सुनाइएको थियो।

उता देवराज नेपाललाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवानाको फैसला भएको थियो।

उनीहरुबाट जम्मा ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३०८ रुपैयाँ असुल गर्न बाँकी थियो।

यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीले आर्थिक वर्ष २०६९/०७० र २०७०/०७१ मा भएको ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना र आ.व. २०७१/०७२, २०७२/०७३ र २०७३/०७४ फागुन मसान्तसम्म भएको ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई मुद्दा विशेष अदालतमा दायर गरेको थियो।

राजस्व हिनामिना मुद्दामा यातायात व्यवस्था कार्यालय सवारी, कोशीका चारजना उपसचिवसहित ११ जना कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको थियो। कैद तोकिएपछि उनीहरू सबै फरार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .