ad ad

समाज


रुकुम हत्याकाण्ड : आज सुनुवाइ सकिने

रुकुम हत्याकाण्ड : आज सुनुवाइ सकिने

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १५:२५, काठमाडौँ

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको छ। 

जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि जारी अन्तिम सुनुवाइ आज (मंगलबार) सकिने अदालतका सूचना अधिकारी गोविन्द कोइरालाले नेपालखबरलाई जानकारी दिए।

‘अहिले प्रतिवादीका तर्फबाट अन्तिम वकिलले बहस गरिरहनुभएको छ’, कोइरालाले मंगलबार दिउँसो ३ बजे भने, ‘आज मुद्दाको सुनुवाइ पूरा हुन्छ र फैसलाको चरणमा जान्छ।’

उनका अनुसार फैसलाको पाठ लेख्न समय लाग्ने भएकाले भोलि बुधबारसम्म फैसला आउने सम्भावना छ।  

दुवै पक्षबाट गरेर जम्मा २३ जना कानुन व्यवसायीले बहस गरेको सूचना अधिकारीले कोइरालाले जानकारी दिए। 

‘पीडितका तर्फबाट १८ जनाले बहस गर्नुभयो भने प्रतिवादीका तर्फबाट ५ जनाले’, उनले भने।

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुमपश्चिमको सोतीगाउँ पुगेका थिए। त्यस क्रममा सोती गाउँका गैरदलित बासिन्दाले आक्रमण गरी नवराजसहित ६ जनाको हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए। 

सोती गाउँ गएका नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो। उनीहरूका शव भेरी नदीमा भेटिएका थिए। सबै शव संकलन गर्न २ साता लागेको थियो।

यसपछि नवराजका बुबा मुनलाल नेपालीले दिएको जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो। तीमध्ये किशोरी ९नवराजकी प्रेमिका० की आमा धरौटी र अन्य १० अभियुक्त सामान्य तारेखमा रिहा भएका थिए भने २३ जना पुर्पक्षका लागि कारागारमा छन्। 

३४ अभियुक्तमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियार बनेको अभियोग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .