ad ad

राजनीति


विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीद्वारा फेरि कतार सरकारसँग आग्रह

विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीद्वारा फेरि कतार सरकारसँग आग्रह

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १५:२२, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अवस्था अज्ञात रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन फेरि कतार सरकारसँग आग्रह गरेका छन्।

परराष्ट्र मन्त्रालयमा मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका हुन्।

जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताए।

साथै उनले नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको जवाफ दिए।

‘इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ। परिस्थिति जटिल छ। यद्यपि, अर्को युद्ध विरामका लागि पहल भइरहेको छ,’ परराष्ट्रमन्त्री साउदसँग राजदूत अन्सारीले भन्नुभयो, ‘हामीले बन्दीहरु छुटाउनका लागि पनि प्रयास गरिरहका छौँ।’

मन्त्री साउदले यसअघि मंसिर ८ गते कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका दागि पहल गरिदिन आग्रह गरेका थिए।

यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए।

परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० देखि कतारमा सुरु हुन गइरहेको दोहा २१ औँ फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउनेछन्।

मन्त्रालयमा मंगलबार भएको भेटमा परराष्ट्रमन्त्री साउद र कतारका राजदूत अन्सारीबीच दोहा फोरम भ्रमण, कतारमा हुने उच्चस्तरीय भेटघाटलगायतका विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .