रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा त्यहाँस्थित जिल्ला अदालतमा आइतबारदेखि अन्तिम सुनुवाइ भइरहेको छ।
आज दोस्रो दिनको सुनुवाइ पनि सुरु भइसकेको रुकुमपश्चिम जिल्ला अदालतका सूचना अधिकारी गोविन्द कोइरालाले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार पहिलो दिन आइतबार पीडितका तर्फबाट ९ जना वकिलले बहस गरेका छन्।
‘हिजो पीडितका तर्फबाट २ जना सरकारी र ७ जना प्राइभेट वकिलले बहस गरे’, सूचना अधिकारी कोइरालाले सोमबार बिहान नेपालखबरसँग भने, ‘आज दोस्रो दिन पनि पीडिततर्फकै वकिलबाट बहस सुरु गरिएको छ।’
उनका अनुसार आज पीडितका तर्फबाट थप ८ जनाले बहस गर्दै छन्। ‘उहाँहरूको बहस सक्न कति समय लाग्ने हो’, उनले भने, ‘त्यसपछि अर्काे पक्षबाट बहस सुरु हुन्छ।’
जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासमा बहसका लागि दुवैतर्फबाट गरी अहिलेसम्म २३ जना वकिलले नाम टिपाएका छन्।
‘जसमा पीडितका तर्फबाट १३ जना छन्’, सूचना अधिकारी कोइरालाले भने, ‘बाँकी १० जना अर्काे पक्षबाट छन्।’
उनका अनुसार आज साँझसम्म पीडितका तर्फबाट बहस सकिएला। ‘प्रतिवादीका तर्फबाट आज बहस सुरु हुन गाह्रै होला’, उनले भने।
फैसला कहिले आउला?
नेपालखबरको प्रश्नमा उनले भने, ‘आज र भोलि त बहस गर्नै लाग्ला। फैसला लेख्न एक दिन पूरै लाग्छ।’ उनले अब २/३ दिनभित्रमा फैसला आउने अनुमान गरे।
२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुमपश्चिमको सोतीगाउँ पुगेका थिए। त्यस क्रममा सोती गाउँका गैरदलित बासिन्दाले आक्रमण गरी नवराजसहित ६ जनाको हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए।
सोती गाउँ गएका नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो। उनीहरूका शव भेरी नदीमा भेटिएका थिए। सबै शव संकलन गर्न २ साता लागेको थियो।
यसपछि नवराजका बुबा मुनलाल नेपालीले दिएको जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो। तीमध्ये किशोरी (नवराजकी प्रेमिका) की आमा धरौटी र अन्य १० अभियुक्त सामान्य तारेखमा रिहा भएका थिए भने २३ जना पुर्पक्षका लागि कारागारमा छन्।
३४ अभियुक्तमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियार बनेको अभियोग छ।
Shares

प्रतिक्रिया