चितवनमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।
मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष र आठ महिनाका एक शिशु रहेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा पूर्बबाट पश्चिमतर्फ आउँदै गरेको बा ४ ख ९५०९ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको ना ३९ प १९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
बसको ठक्करबाट घाइते चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। मृतकको सनाखत हुनसकेको छैन। मोटरसाइकललाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।
यस्तै खैरहनी नगरपालिका-३ तरकारीचोकमा बस र ट्रक ठक्कर खाँदा एक जनाको मृत्यु र नौ घाइते भएका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरी मनोरसा-६ बस्ने गुन्दो मण्डलका आठ महिनाको छोरा सत्यम मण्डल रहेका छन्।
जलेश्वरबाट कामाडौँतर्फ जान आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र सोही दिशाबाट आइरहेको ना ६ ख १५०६ नम्बरको ट्रक ठक्कर खाँदा १० जना घाइते भएका थिए। घाइतेमध्ये मण्डलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।
अन्य घाइतेमध्ये दुईको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये पाँच जनाको चितवन मेडिकल कलेज र अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
बस, ट्रक र ट्रकचालक नियन्त्रणमा रहेको भए पनि बस चालक फरार भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया