नोवल कोरोना भाइरसको बढ्दो संक्रमणमाझ विद्यार्थीलाई घर फर्काउन बेइजिङस्थित नेपाली दूतावासले पहल थालेको पहिलो दिनमा ३५ जना विद्यार्थीले घर फर्कन आवेदन भरेका छन्।
नेपाल सरकारको निर्देशनमा दूतावासले शनिबार बिहान सूचना प्रकाशित गर्दै चीनको हुबेई प्रान्तअन्तर्गतका विद्यार्थी घर फर्काउन आइतबार बिहानभित्र तोकिएको आवेदन भर्नुपर्ने प्रबन्ध तय भएको थियो ।
‘फोन र विच्याटमार्फत विद्यार्थीबारेको सूचना आइरहे पनि घर फर्कन चाहेर फर्म भरेर पठाउने विद्यार्थीको संख्या त्यति धेरै भएको छैन,’ दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले फोनमा भने।
हुबेई प्रान्तका वुहान, इनसी र सियानसहितका चार सहरमा १ सय ८८ विद्यार्थी रहेको पछिल्लो जानकारी आएको र सबैजसो भाइरस संक्रमणबाट सुरक्षित रहेको जानकारी दूतावासले पाएको छ।
‘तत्कालै चार्टर्ड विमान पठाइहाल्नेबारे शनिबारसम्म कुनै निर्णय भएको छैन,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘घर फर्कने विद्यार्थीको चाहना र स्थिति हेरेर मात्रै सम्भवतः एक÷दुई दिनमा निर्णय हुनेछ।’ यो खबर आजको कान्तिपुरमा देवेन्द्र भट्टराईले लेखेका छन्।
नेपाल उड्डयन प्राधिकरणसम्बद्ध अधिकारीका अनुसार आगामी बुधबार मात्रै चीनको वुहानका लागि चार्टर्ड फ्लाइट लैजान शनिबार मौखिक रूपमा मात्रै परराष्ट्रका अधिकारीसँग कुराकानी भएको थियो ।
‘उड्डयन प्राधिकरणमा चार्टर्ड विमानबारे अफिसियल रूपमा कुनै अनुरोध आएको छैन,’ ती अधिकारीले भने, ‘अनुरोध आउनासाथ तत्कालै उडान भर्न सकिने अवस्था पनि रहन्न, प्रक्रिया मिलाउन केही समय लाग्छ नै।’
वुहानस्थित मेडिकल कलेजका पीएचडी शोधार्थी गौरव पोखरेलले उक्त कलेजमा सात जना नेपाली विद्यार्थी रहेको र सबैजना घर फर्कन चाहेका बताए ।
‘हामी यहाँ सबै ठीकठाक छौं, चीन सरकारले सक्दो सेवा, सुरक्षासहित हाम्रो रेखदेख गरेको छ,’ पोखरेलले फोनमा भने, ‘बरु नेपालमा गएपछि के हुने हो भन्ने अन्योल छ। हामी यहाँ बस्नेजति सबैजना संक्रमितझैं गरेर हल्ला फैलाइएकोमा दुःख लागेको छ। नेपाल सरकारले के बुझ्नुपर्यो भने हामी स्वस्थ मान्छे हौं । यहाँ बढेको मनोवैज्ञानिक सन्त्रास र सुरक्षा सतर्कताका कारण मात्रै हामी घर फर्कन चाहेका हौं।’

प्रतिक्रिया