ad ad

समाज


काठमाडौँमा भित्रियो पैदलयात्रुले नै ट्राफिक बत्ती बालेर बाटो काट्ने प्रविधि, बबरमहलबाट सुरु


नेपालखबर
मंसिर ११ , काठमाडौँ

काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ।

सोमबारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ सञ्चालनमा ल्याइएको हो। ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट १० लाख रुपैयाँ लागतमा राखिएको हो।

सञ्चालनमा आएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि ५ सेकेण्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदलयात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्ने बताए। प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्ने र प्रयोग गर्न जान्दा राम्रो हुने पोखरेल बताउँछन्।

‘काठमाडौँ महानगरपालिकाद्वारा आमनागरिकका लागि राखिएको ट्राफिक लाइट हो। यसलाई थिचिसकेपछि यसले सहज रूपमा जुन तोकिएको समय छ (अहिले ३० सेकेण्ड राखिएको छ), त्यो थिचेपछि ५ सेकेण्ड कुुर्नुपर्छ, त्यो कुरेपछि हरियो बत्ती बल्छ, पैदलयात्रुका लागि,’ पोखरेल भन्छन्, ‘३० देखि ३५ सेकेण्ड तोकिएको समयमा क्रस गरिसक्नुपर्छ। यो उपयुक्त छ र यसलाई प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्छ। प्रयोग गर्न जान्दा त्यसले सूचना देखाउँछ। त्यसलाई ख्याल गरेर बाटो काट्नुपर्छ।’

बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले भने अल्पकालीन रूपमा जेब्रा ट्राफिक राखे पनि दीर्घकालीन रूपले यो ठूला सडकमा अर्थपूर्ण नहुने बताउँछन्। यसका लागि जनप्रतिनिधिहरूले अण्डर पास वे बाटो बनाउने तयारी गरिरहेको उनले बताए।

‘ट्राफिक लाइट अहिले अल्पकालीन रूपमा जेब्रा ट्राफिक लाइटले राम्रै हुने विश्वास लिएको छु। दीर्घकालीन रूपले यो हाइवेमा अर्थपूर्ण रहँदैन,’ सांसद श्रेष्ठले भने।

आगामी वर्षमा यसलाई अण्डर पास वे बाटोको रूपमा जेब्रा क्रसिङ राख्न सकिने सांसद श्रेष्ठको धारणा छ।

मंसिर ११, २०८० सोमबार १२:४२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .