ad ad

समाज


काठमाडाैँका भिडभाड बढी हुने ठाउँमा सार्वजनिक शौचालय थप गरिँने

काठमाडाैँका भिडभाड बढी हुने ठाउँमा सार्वजनिक शौचालय थप गरिँने

नेपालखबर
माघ १८, २०७६ शनिबार २:३३,

काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ।

नयाँ शौचालय निर्माणसँगै सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्नुपर्ने, पहुँच बढाउनुपर्ने, पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपाको उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले जानकारी दिइन्।

शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख श्रेष्ठलाई जिम्मेवारी दिएको छ।

चालु आर्थिक वर्षमा कामपाले सार्वजनिक शौचालय निर्माणका लागि तीन करोड विनियोजन गरेको छ। पछिल्लो समय कामपाले शहरी योजना आयोग गठन गरी सार्वजनिक शौचालय निर्माणको लागि काम अघि बढाएको जनाए पनि हालसम्ममा निर्माणको लागि ढाँचा, लागत र स्थानको अध्ययन मात्र गरेको छ।

कापमासँग सार्वजनिक निजी साझेदारीमा हुने कामका लागि छुट्टै ऐन छ। त्यस ऐनमा व्यावसायिक सार्वजनिक सामाजिक उत्तरदायित्वमा हुने कामका विषयमा व्यवस्था नभएकाले कार्यदल गठन गरेर नीति मस्यौदा गर्न कार्यदल बनाइएको उपप्रमुख खड्गीले बताइन्।

सार्वजनिक शौचालय निर्माणका लागि कामपाले विगत पाँच वर्षदेखिनै यस विषय उठान गरेको भए पनि हालसम्म निर्माणको कामले गति लिएको छैन।

निर्माणको लागि शहरी योजना आयोगसहित विभिन्न सङ्घ संस्थाले गरेको अध्ययनअनुसार मानिसको सङ्ख्याको आधारमा सार्वजनिक शौचालय अत्यन्तै कम रहेकाले निर्माणको काम शुरु गर्नुपर्ने छ।

शौचालय सञ्चालनका लागि कामपासँग जग्गा कम भए पनि विभिन्न सरकारी तथा संस्थानका जग्गा लिज वा अन्य विधिबाट प्राप्त गरी सार्वजनिक शौचालयको विस्तार गर्न पहल गरिहाल्नुपर्ने अध्ययनले देखाएको छ।

हाल कामपामा ५८ सार्वजनिक शौचालय सञ्चालनमा छन्। सञ्चालमा रहेकामध्ये २८ प्रयोगमा रहेको र तीनमा पनि सरसफाइको अभाव छ।

नेपाल आयल निगम, कर्मचारी सञ्चयकोष, खाद्यसंस्थान, सांस्कृतिक संस्थान, गुठी, त्रिभुवन विश्वविद्यालयलगायतका संस्थासँग सहकार्य गरी सार्वजनिक शौचालय निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।

अध्ययनअनुसर आवश्यकता हेरी ६९ स्थानमा नयाँ शौचालन निर्माण गर्न सकिने छ। निर्माणका लागि छ वटा नमूना तयार भएको छ। सबै नमूनाको अध्ययन गरी कम लागतमा निर्माण हुने र टिकाउ शौचालय निर्माण कामपाको छनोटमा रहने उपप्रमुख खड्गीले बताइन्।

अध्ययनअनुसार सार्वजनिक शौचालय निर्माणको लागि टेकु, सानेपा पुलसँगै, कालीमाटी, कलङ्की, सीतापाइला, बालाजू, माछापोखरी, गोङ्गबु, प्रहरीचौकी, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरी, गौशाला, तिनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा एनएसीतर्फ, जुद्ध शालिक वरपर, हनुमानढोका, जमल, लैनचौर, स्रोह्रखुट्टे र पेट्रोलपम्पमा, बल्खु तथा कुलेश्वरलगायत स्थान छनोट गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .