बाग्लुङ र रुकुम पूर्वको सिमाना रहेको चुलीमा हिउँले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केही दिनदेखि अवरुद्ध थियो।
हिउँ हटाउन केही पहल नभएका बेला तन्नेरीहरुको टोली मोटरसाइकल लिएर त्यहाँ पुग्यो र लोकमार्गको स्थानीय आयोजना कार्यालयमार्फत बाटो खुलाउन अनुरोध गर्यो। त्यो सम्भव भएन।
एकपल्ट स्काभेट हिँडाइदिए पनि सजिलो हुने उनीहरुको आशय थियो। त्यो पनि सम्भव नभएपछि युवाले हिउँले पुरिएको करिब १० किलोमिटर सडकमा मोटरसाइकल धकेलेर लुकुम भन्ने ठाउँनजिक पुर्याए।
यति मेहनत नगरेको भए पहाडैपहाड पूर्व–पश्चिम गर्ने लक्ष्य अधुरो हुन्थ्यो। मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथरबाट मोटरसाइकलमा हिँडेका ती युवा सत्रौं दिनमा सुदूरपश्चिम बैतडीको झुलाघाट पुगे।
मध्यपहाडी लोकमार्गको निर्माणसँगै पहाडैपहाड पूर्व–पश्चिम यात्रा गर्न सम्भव बन्दैछ। कतै कालोपत्रे, कतै ग्राभेल त कतै कच्ची सडकको प्रयोग गरेर पहाडैपहाड पूर्व–पश्चिम यात्रा सम्भव हुँदै गएको खबर आजको नागरिक दैनिकमा गिरिराज बाँस्कोटाले लेखेका छन्।
यो लोकमार्गले सहरलाई भन्दा पनि गाउँलाई बढी जोडेको छ। दुर्गम गाउँहरु सडक मार्गमा जोडिएका छन्। बाँकी काम चाँडै सम्पन्न हुने हो भने मध्यपहाडी क्षेत्रका बासिन्दाले थप सुविधा पाउने देखिन्छ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको लोकमार्गको सम्पूर्ण काम आर्थिक वर्ष २०७९–८० सम्ममा सम्पन्न गर्ने सरकारी लक्ष्य छ। लक्ष्य हासिल गर्न काम तीव्र पार्न आवश्यक छ। कालोपत्रेको ठेक्का नलागेको क्षेत्रमा ठेक्का लगाउने, भएका ठेक्का समयमा सम्पन्न गर्नुका साथै पुल निर्माण, विवाद समाधान गर्नु आवश्यक देखिन्छ।
मध्यपहाडी लोकमार्गको निर्माणसँगै पहाडैपहाड पूर्व–पश्चिम यात्रा गर्न सम्भव बन्दैछ भने विभिन्न जिल्लाबाट राजधानी काठमाडौंसम्मको सडक दूरी पनि छोटिएको छ।
पूर्वमा पाँचथरको चिवाभन्ज्याङदेखि पश्चिमको बैतडीको झुलाघाट जोड्नेगरी १ हजार ८ सय ७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्ग रहेको छ।
‘अन्य आयोजनाअन्तर्गत निर्माण भएको ४ सय ६२ किलोमिटर सडक र पुलहरु चौडा पार्नेबाहेकका काम २०७९–८० मा सक्ने लक्ष्य छ’, मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालय काठमाडौंका आयोजना निर्देशक दीपक केसीले भने, ‘२६ जिल्लाका २ सय १५ बस्ती जोड्दै करिब १ करोड जनतालाई प्रत्यक्ष लाभ पुर्याउने गरी राजमार्गको काम अघि बढाइएको छ। यो लोकमार्गले मध्यपहाडी क्षेत्रका बासिन्दालाई सहज सडक सुविधा, आर्थिक, सामाजिक स्तरमा परिवर्तन ल्याउने र बसाइँ सराइ रोक्ने अपेक्षा राखिएको छ।’
सडक सुविधा पुगेसँगै ग्रामीण बजारहरुको स्थापना, सडक सञ्जालको बढोत्तरी, विभिन्न घरेलु उद्यमको विकास भएको देख्न सकिन्छ। पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, रामेछाप, सिन्धुली, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछामजस्ता जिल्लामा बढी सुविधा भएको देखिन्छ।
प्रतिक्रिया