समाज


सर्वोच्चमा कांग्रेस र एमालेबाट एक–एक जना न्यायाधीश, माओवादीको कोटा खाली

सर्वोच्चमा कांग्रेस र एमालेबाट एक–एक जना न्यायाधीश, माओवादीको कोटा खाली

उजिर कार्की
मंसिर ५, २०८० मंगलबार १७:२६, काठमाडौँ

सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा प्रमुख दलहरूले भागबण्डा गरेका छन्। जसमा नेपाली कांग्रेस निकट कानुन व्यवसायी र एमाले निकट कानुन व्यवसायीबाट एक–एक जनालाई न्यायाधीश बनाइएको छ। 

माओवादीको लागि एक जना कोटा छुट्याइएको छ। सर्वोच्च अदालतमा ७ जना न्यायाधीश रिक्त भए पनि माओवादीको कोटाबाट नाम आउन नसक्दा मंगलबार ६ जना मात्रै न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो।

जसमा चार जना उच्च अदालतका न्यायाधीश हुन्। अब एक जना पनि वकिलकै कोटाबाट न्यायाधीश बन्ने न्याय परिषद्का एक सदस्यले बताए। ‘यो पनि वकिलकै कोटा हो। तर माओवादीनिकट कानुन व्यवसायीका लागि छुट्याइएको कोटाबाट नाम आउन नसकेपछि सिफारिस हुन सकेन, त्यही भएर एक जना खाली राख्नुपर्‍यो’, उनले नेपालखबरसँग भने। 

न्याय परिषद्ले ४ जना उच्च अदालतका न्यायाधीशबाट सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। कानुन व्यवसायीबाट न्यायाधीश बनेकी सारंगा सुवेदी हाल उच्च अदालत, जनकपुरमा न्यायाधीश छिन्।

सरकारी वकिल समूहबाट न्यायाधीश बनेका महेश शर्मा पौडेल हाल उच्च अदालत, पाटनका न्यायाधीश छन्।

टेकप्रसाद ढुंगाना उच्च अदालत, पाटनकै न्यायाधीश हुन्। 

अब्दुल अजिज मुसलमान उच्च अदालत, पाटनको हेटौँडा इजलासमा छन्। उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ।

यस्तै कानुन व्यवसायीबाट दुई जना न्यायाधीशका लागि सिफारिस भएका छन्। नेपाली कांग्रेसनिकट कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ता सुनील पोखरेल सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका छन्। एमालेको कोटाबाट वरिष्ठ अधिवक्ता बालकृष्ण ढकाललाई सिफारिस गरिएको छ।

पोखरेल नेपाल बार एसोसिएसनका पूर्वमहासचिवसमेत हुन्। ढकाल सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वसचिव हुन्।

न्यायाधीशमा सिफारिस भएकाहरूको सुनुवाइका लागि अब संसदीय सुनुवाइ समितिमा पठाइनेछ। सुनुवाइ भएर अनुमोदन भएपछि राष्ट्रपतिबाट सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad