ad ad

समाज


नक्कली शरणार्थी प्रकरणका थुनुवाको निवेदनमा उच्च अदालतमा निरन्तर सुनुवाइ

नक्कली शरणार्थी प्रकरणका थुनुवाको निवेदनमा उच्च अदालतमा निरन्तर सुनुवाइ

नेपालखबर
मंसिर ५, २०८० मंगलबार १०:२७, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको निवेदनमा उच्च अदालत, पाटनमा आज (मंगलबार) देखि निरन्तर सुनुवाइ हुँदै छ। 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाउन खोजेको अभियोगमा पुर्पक्षका लागि थुनामा गएका अभियुक्तहरूले उच्च अदालतमा दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो।

यस्तै धरौटीमा छुटेका दुईजनाविरुद्ध पनि सरकारी वकिलले उच्च अदालतमा निवेदन दिएका छन्।

प्रतिवादीका तर्फबाट ६० जनाभन्दा बढी कानुन व्यवसायीले बहस गर्ने भएकाले आजदेखि निरन्तर सुनुवाइको तालिका तय गरिएको हो। 

यस प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई पुर्पक्षका लागि थुनामा छन्।

आफूहरूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध उनीहरूले उच्च अदालत, पाटनमा दिवेदन दिएका हुन्। 

यस प्रकरणमा पक्राउ परेकामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए। तुलाधर र गुरुङलाई पनि थुनामै राख्नुपर्ने माग सरकारी वकिलको छ।

उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, संगठित अपराध र ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ।

उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .