नेपाल दूरसञ्चार प्राधिकरणले सिंगापुरस्थित टिकटक कम्पनीलाई पत्र पठाएको छ। प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रका अनुसार शुक्रबार टिकटकलाई दूरसञ्चारले पत्र पठाएको हो।
यसअघि नेपालबाट टिकटक बन्द गर्ने निर्णय भएसँगै दूरसञ्चार प्राधिकरणलाई टिकटकले पत्र लेखेको थियो। सो पत्रपछि शुक्रबार दूरसञ्चार प्राधिकरणले पत्र लेखेको हो।
उपनिर्देशक मिश्रका अनुसार शुक्रबार दूरसञ्चारले लेखेको पत्र टिकटकले यअसघि पठाएको पत्रको जवाफ भने होइन।
टिकटकले नेपालीका २९ लाख ८० हजार भिडिओ हटाएको खुलासा, प्राधिकरणलाई लेख्यो यस्तो पत्र
‘हामीले प्रत्यूत्तर दिएको होइन। टिकटकलाई पत्र लेखेका हौं,’ मिश्रले नेपालखबरसँग भने।
उनका अुनसार पत्रमा दूरसञ्चार प्राधिकरणसँग भन्दा पनि नेपाल सरकारसँग नै यस विषयमा कुराकानी गर्न टिकटकलाई आग्रह गरिएको छ।
‘पत्रमा दूरसञ्चार प्राधिकरणसँग भन्दा पनि नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले नै निर्णय गरेको कारणले सरकारसँगै यो विषयमा कुरा गर्नू भनेर पत्र लेखेका छौं,’ उनले भने।
तर, प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने टिकटकलाई जवाफ पठाएको बताए। ‘हो, हामीले टिकटकलाई जवाफ पठाएका छौं,’ उनले भने।
उनले सरकारको निर्णय कार्यान्वयनका लागि सहयोग गर्न टिकटकलाई आग्रह गर्दै पत्र लेखेको जानकारी दिए। ‘हामीले टिकटकलाई मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न अनुरोध गरेका छौं,’ उनले शुक्रबार साँझ नेपालखबरसँग भने।
गत कात्तिक २७ गते सरकारले नेपालबाट टिकटक बन्द गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि अहिले सामाजिक सञ्जालमा यसका पक्ष र विपक्षमा विभिन्न तर्क भइरहेका छन्।
टिकटक प्रतिबन्धको सरकारी निर्णयविरुद्ध शुक्रबार १० वटा रिट परेका छन्। सो रिटमाथि आगामी मंसिर ४ गते सुनुवाइ हुने भएको छ।
Shares

प्रतिक्रिया