इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा जेल सजाय काटिरहेका नेपाली कांग्रेसका नेता मोहम्मद आफ्ताब आलमको मुद्दामा सुनुवाइ जारी छ।
बुधबार पनि जिल्ला अदालत रौतहटमा यो मुद्दामा सुनुवाइ भयो। बुधबार अदालतले यो मुद्दाको गम्भीरता र जटिलता विचार गरी सरकार र आलमका वकिलहरूलाई १५ दिनभित्र बहस नोट लिएर आउन आदेश दिएको छ।
आलमविरुद्ध सरकारले मुद्दा नचलाउने निर्णय गरिसकेको थियो। तर सर्वोच्च अदालतले सरकारको निर्णय खारेज गरिदिएर अघि बढाउन आदेश दिएको थियो।
उक्त मुद्दालाई लिएर बुधबार अदालतले सबै विषय समेटेर टिपोट पेश गर्न जिल्ला अदालत प्रशासनलाई पनि आदेश दिएको हो।
अब उक्त आदेशपछि अदालतले प्रशासनले नेपाल सरकारको निर्णय र त्यसलाई बदर गर्दै सर्वोच्च अदालतले दिएको आदेशको टिपोट इजलासमा पेश गर्नेछ।
उक्त मुद्दामा यसअघि मंगलबार पनि सरकारी वकिल र आलम पक्षका वकिलहरुले बहस गरेका थिए। बाँकी रहेका केही वकिलहरूको बहस बुधबार सकिएपछि अन्तिम फैसला गर्ने तयारीस्वरुप अदालतले दुवै पक्षको बहस नोट र टिपोट झिकाएको हो।
संविधान सभा निर्वाचन–२०६४ का उम्मेदवार आलमले चुनाव जित्न भारतबाट बम बनाउने मानिस बोलाएका थिए।
त्रास देखाएर बुथ कब्जा गरी चुनाव जित्ने रणनीतिमा रहेका आलमकै घरमा बम बनाउने क्रममा विस्फोट हुँदा केही मानस घाइते भएका थिए। उनीहरूलाई आलमले आफ्नै इँटाभट्टामा हालेर जिउँदै जलाएको आरोप छ।
Shares

प्रतिक्रिया