ad ad

समाज


रोमानियामा नेपालीलाई यातना, कामबाट निकाला

रोमानियामा नेपालीलाई यातना, कामबाट निकाला

रोमानियाको बुखारेस्ट


नेपालखबर
कात्तिक ८, २०८० बुधबार २२:०, काठमाडौँ

रोमानियामा नेपाली कामदारलाई कठिन श्रममा लगाउने, आरामको लागि समय नदिने र उल्टै यातना दिएर कामबाट निकाल्ने प्रवृत्ति बढ्दै गएको छ।

हालै मात्र रोमानियाको तोब्रा भन्ने स्थानमा एक चिनियाँद्वारा सञ्चालित कम्पनीले नेपाली श्रमिकलाई निर्मम यातना दिएर कामबाट निकालिदिएको छ। ताप्लेजुङ घर भएका ती श्रमिकले आफूलाई साहुले काठका भाटाले पेट, पिँठ्यु र टाउकोमा निर्मम तरिकाले पिटेको बताएका छन्। 

गत आइतबार ज्यान जोगाउँदै भागेका उनलाई उक्त कम्पनीका सञ्चालकले मार्ने धम्की दिई गाडीले पछ्याएका थिए। ती पीडितले एम्बुलेन्सको सहयोगमा अस्पताल गएको र रातभरिको उपचारपछि प्रहरीमा उजुरी गर्न पुगेको बताएका छन्। तर, प्रहरीले आफ्नो न्यायका लागि केही गर्न नसक्ने बताएपछि निराश भएको उनको भनाइ छ।

‘प्रहरीले अदालत गएर मुद्दा लड, अनि मात्र तिम्रो सुनुवाइ हुन्छ भन्यो,’ परिचय नखुलाउन अनुरोध गर्दै ती पीडित युवकले नेपालखबरसँग भने, ‘वकिल राख्नलाई मसँग पैसा छैन। उजुरी लेखाएर कसरी मुद्दा लड्नु? यहाँ हाम्रो पक्षमा बोलिदिने कोही पनि छैन।’

यातनाबाट घाइते कामदार बुखारेस्टमा अन्य नेपाली श्रमिकहरूसँग बसिरहेका छन्

हाल आफू बुखारेस्टमा नेपाली श्रमिकहरुसँगै बसिहरेको र त्यहाँ आफूजस्तै पीडित अरु पनि धेरै रहेको उनले बताए।

‘हामी यहाँ ११ जना एउटै कोठामा मुस्किलसँग बसिरहेका छौँ,’ उनी भन्छन्, ‘मजस्तै कम्पनीको शोषण र दुर्व्यवहारमा परेका अरु पनि धेरै रहेछन्। नेपाल फर्किन टिकट काट्ने पैसा नभएर अलपत्र परेका छन्।’

उनका अनुसार, राहदानीलगायतका कागजात कम्पनीले आफै राख्ने, बन्धकजस्तै बनाएर काममा लगाउने र काम गर्न नसक्ने भएमा सहजरूपमा रिलिज पेपर पनि नदिने प्रवृत्तिका कारण नेपालीहरू बढी पीडित छन्।

वैदेशिक रोजगार बोर्डको हेल्पलाइनमा फोन गर्दा नउठेको र आफूहरु सहाराविहीन हुन पुगेको ती युवकले बताए।

रोमानियासमेत हेर्ने जर्मनीको बर्लिनस्थित नेपाली दूतावासमा यसबारे जानकारी माग गर्दा राजदूत रामकाजी खड्काले यस घटनाबारे आफूलाई जानकारी नभएको र कसैले खबर पनि नगरेको बताएका छन्।*

*अद्यावधिक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .