ad ad

समाज


संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले कात्तिक १४ गते संसद्‌मा सम्बोधन गर्ने

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले कात्तिक १४ गते संसद्‌मा सम्बोधन गर्ने

नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार १५:५८, काठमाडौँ

इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण हुने भएको छ।

गत कात्तिक २ गते बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले संयुक्त राष्ट्र संघका महासचिव गुटरेसले यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो।

नेपाल बसाईको क्रममा उनले नेपालको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले कार्तिक २ गते संघीय संसद सचिवालयलाई पत्राचार गरी महासचिव गुटरेसको कार्तिक १४ गते अपरान्ह ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट संयुक्त राष्ट्र संघका महासचिव गुटरेसले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकाले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको पत्र प्राप्त भएको संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीेले जानकारी दिए। 

‘संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटरेसले मिति २०८० कार्तिक १२ देखि २०८० साल १५ गतेसम्म गर्नु हुने नेपालको औपचारिक भ्रमणको कार्यक्रम मन्त्रीपरिषद्बाट स्वीकृत भएको र उक्त भ्रमणको शिलशिलामा उहाँले मिति २०८० कार्तिक १४ गते मंगलबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले सोका लागि आवश्यक व्यवस्थाका लागि अनुरोध भई सचिवालयलाई पत्र प्राप्त भएको छ,’ गिरीले भने, ‘अब संयुक्त राष्ट्र संघका महासचिव महामहिमको सम्बोधनका लागि संयुक्त बैठक बस्नुपर्ने भएकाले सो सम्बन्धि आन्तरिक तयारी गर्छनै। यसबीचमा चाडपर्व पनि परेको छ। दसैं परेको छ। लगत्तै हाम्रो आन्तरिक तयारी पनि सुरु भइनै रहेको छ।’

महासचिव गुटरेसको सम्बोधनका लागि सचिवालयले आन्तरिक तयारीको कामलाई सुरु गरिसकेको पनि बताए। महासचिव गुटरेसले सम्बोधन गर्ने सो बैठकमा संवैधानिक निकायका प्रमुखहरू, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुलगायतका विशिष्ट सरकारी अधिकारीहरुलाई आमन्त्रण गरिनेछ।

प्रवक्ता गिरीले प्रतिनिधि सभा बैठक कार्तिक १२ गते बोलाइएको सो सम्बोधनबारे सोही बैठकमा प्रतिनिधि सभाका सांसदहरूलाई जानकारी गराइने र राष्ट्रिय सभाका लागि सूचना जारी गर्न सकिने बताए।

‘त्यसै गरेर अब उहाँको सम्बोधनमा संवैधानिक निकायका प्रमुखहरू, नेपालस्थित विदेशी नियोगका प्रमुखहरुलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गर्ने लगायतका विभिन्न कार्यहरुको तयारी भइरहेको छ,’ उनले भने।

महासचिव गुटरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघको ७८ औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए। 

पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटरेसको संयुक्त राष्ट्र संघको महासचिवको रुपमा दोस्रो कार्यकाल हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .