रोमानियाका लागि नेपाली वाणिज्यदूत नवराज पोखरेलले राजदूतावासले आफूलाई पठाएको गोप्य पत्र सार्वजनिक गरेकामा आपत्ति प्रकट गरेका छन्।
साथै यस्तो गोप्य कागजात सार्वजनिक गरेकाले अप्ठ्यारो पर्न सक्ने भन्दै पोखरेलले नेपालखबरलाई धम्की पनि दिएका छन्।
‘तपाईं कुरै नबुझी जे पायो त्यही लेख्नुहुँदो रहेछ,’ उनले फोनमा भने, ‘राजदूतावासले मलाई गोप्यरुपमा गरेको पत्राचारमा तपाईंले कसरी पहुँच पुर्याउनुभयो? यो गम्भीर कुरा हो। यसले मलाई त केही हुँदैन तर तपाईंलाई अप्ठ्यारो पर्न सक्छ है। विचार गर्नोस्।’
पोखरेलले राहदानी नवीकरणका नाममा रोमानियाका नेपालीबाट एक करोड रुपैयाँभन्दा बढी रकम असुलेको समाचार सार्वजनिक गरेको थियो। पोखरेलको उक्त असुलीमा जर्मनीस्थति नेपाली राजदूतावासले प्रश्न उठाएको छ। आइतबार राजदूत रामकाजी खड्काले सचेत गराउँदै ५ युरोभन्दा बढी अतरिक्ति शुल्क नलिन भनेर पठाएको पत्र नेपालखबरले सार्वजनिक गरेको थियो।
हेर्नुहोस् पूरा समाचारः राहदानी नवीकरणका नाममा वाणिज्यदूत पोखरेलद्वारा करोड बढी असुली, दूतावासको यस्तो पत्र
यस समाचारमा उल्लिखित तथ्यहरूमा भने उनले कुनै त्रुटि औँल्याउन सकेनन्।
बरू उनले सरकारले तोकेको राजस्वभन्दा बढी शुल्क लिएको उनले स्वीकार गरे। तर, त्यो रकम सेवा शुल्कवापत् लिएको भनी प्रष्टीकरण दिएका छन्।
Shares

प्रतिक्रिया