समाज


राहदानी नवीकरणका नाममा वाणिज्यदूत पोखरेलद्वारा करोड बढी असुली, दूतावासको यस्तो पत्र

राहदानी नवीकरणका नाममा वाणिज्यदूत पोखरेलद्वारा करोड बढी असुली, दूतावासको यस्तो पत्र

जर्मनीस्थित नेपाली राजदूतावासको सूचना र रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेल


रामबहादुर रावल
असोज २८, २०८० आइतबार २१:४२, काठमाडौँ

रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले राहदानी नवीकरणका नाममा उठाइरहेको अतिरिक्त शुल्कमा जर्मनीस्थित नेपाली राजदूतावासले प्रश्न उठाएको छ। 

आइतबार एक सूचना जारी गरी राजदूत रामकाजी खड्काले सचेत गराउँदै ५ युरोभन्दा बढी त्यस्तो अतिरिक्त शुल्क नलिन भनेका छन्

हेर्नुहोस्, दूतावासको पत्र:

 

यसअघि श्रममन्त्री शरतसिंह भण्डारीसहितको टोलीमा खड्का पनि रोमानिया पुगेका बेला त्यहाँ कार्यरत नेपालीले पोखरेलले उठाइरहेको अतिरिक्त शुल्कबारे प्रश्न गरेका थिए।

त्यसपछि राजदूत खड्काको पहलमा दूतावासले अनुसन्धान गरेको थियो। 

अनुसन्धानबाट प्राप्त तथ्यअनुसार, पोखरेलले राहदानी नवीकरणका नाममा ५ महिनाअघिसम्म प्रतिव्यक्ति न्यूनतम २५० युरो उठाउने गरेका थिए। जबकि, सरकारी राजस्वमा १२० युरो मात्र जम्मा गर्नुपर्थ्यो। 

दोब्बरभन्दा बढी उनले उठाउँथे। कतिपयबाट त्यसभन्दा पनि बढी उठाउने गरेका थिए।

गत मे महिनासम्ममा उनले ५०० हाराहारी नेपालीको रोमानियाबाट राहदानी नवीकरण गराएका थिए। २५० युरोकै दरले हिसाब गर्दा पनि उनीहरूबाट १ लाख २५ हजार युरो उठाएको देखिन्छ। 

यसबाट सरकारी कोषमा दाखिला गर्नुपर्ने राजस्व कटाउँदा पनि उनले ६५ हजार युरो आफैले राखेको हिसाबबाट खुल्छ। यो भनेको हालको विनिमय दरअनुसार ९१ लाख नेपाली रुपैयाँ हो।

केही नेपाली युवाले उनले उठाइरहेको रकममा प्रश्न उठाएपछि पोखरेलले शुल्क घटाएका थिए। पछिल्लो समय उनले प्रतिव्यक्ति १५० युरो उठाइरहेका थिए। 

प्रतिव्यक्ति ३० युरो अतिरिक्त उठाउँदा उनले २० युरो सेवा शुल्क र १० युरो नेपाली समाज नामक संस्थाका लागि भन्ने गरेका थिए। स्मरणीय के छ भने उक्त नेपाली समाजका संस्थापक अध्यक्ष पनि स्वयंं पोखरेल नै छन्।

पछिल्लोपल्ट उनले करिब ८०० जनाबाट १५० युरोका दरले राहदानी नवीकरण शुल्क उठाएका छन्। जसमा १६ हजार युरो सेवा शुल्कवापत र ८ हजार युरो नेपाली समाजका नाममा पोखरेलको खल्तीमा गएको देखिन्छ। यो भनेको ३३ लाख ६० हजार नेपाली रुपैयाँ हुन्छ।

पोखरेलले रोमानियाबाट माग हुने श्रमिकका लागि ‘डिमान्ड लेटर’ पठाउँदा पनि अतिरिक्त शुल्क लिने गरेको गुनासो दूतावासमा पुगेको छ। यसबारे पनि छानबिन भइरहेको दूतावास स्रोतले जनाएको छ।

तर वाणिज्यदूत पोखरेल भने सम्पर्कमा आउन चाहेनन्। धेरैपटक फोन गर्दा पनि उनले उठाएनन्। लिखितरूपमा पठाएको प्रश्नको पनि जवाफ दिएनन्। 

युरोपेली मुलुक रोमानिया पछिल्ला केही वर्षयता नेपालीको उच्च रोजाइको श्रम गन्तव्य बनेको छ। गएको तीन वर्षमा १० हजार नेपाली रोमानिया पुगेको तथ्यांक छ।

अघिल्लो आर्थिक वर्ष मात्र ६ हजार ४१८ जना गएका थिए। हालै दुई मुलुकबीच श्रम सम्झौता पनि भएको छ। राहदानीको म्याद सकिएपछि त्यहाँ रहेका नेपालीले वाणिज्यदूतावासको सहजीकरणमा नवीकरण गराउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .