हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
नेपालबाट मनसुन बाहिरिन थालेसँगै वर्षा हुने क्रम ह्वात्तै घटेको छ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ भने बागमती र मधेश प्रदेशका पनि धेरैजसो स्थानबाट मनसुन हटेको छ।
अब मनसुन बागमती र मधेश प्रदेशका थोरै स्थान र कोशी प्रदेशमा मात्र बाँकी छ।
पूर्वबाट प्रवेश गरेर क्रमशः पश्चिमसम्म फैलिएको मनसुन बाहिरिँदा पनि पश्चिमबाट क्रमशः हट्दै हट्दै पूर्वबाट बिदा हुन्छ।
यस वर्ष नेपालमा मनसुन औसत मितिभन्दा एक दिन ढिला गत जुन १४ तारिख (जेठ ३१ गते) भित्रिएको थियो। यस्तै नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख थियो। तर यस वर्ष मनसुन औसत मितिभन्दा निकै ढिला गरी बाहिरिइरहेको छ।
सुरुमा यही अक्टोबर ६ तारिखका दिन मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी क्षेत्रबाट बाहिरिएको थियो। त्यसयता मनसुन क्रमश: बाहिरिँदै मधेश प्रदेशसम्म (धेरैजसो स्थान) बाट बाहिरिएको हो।
मनसुन पूर्ण रूपमा बाहिरिएपछि वर्षायाम सकिएको मानिन्छ।
यसपछिको सिजनलाई पोस्ट मनसुन भनिन्छ। पोस्ट मनसुनको अवधि अक्टोबर र नोभेम्बरसम्म रहन्छ।
मौसमविद्का अनुसार पोस्ट मनसुन लागेपछि हिमाली भेगमा हिमपात हुन सुरु हुन्छ। तर धेरै हुँदैन। पोस्ट मनसुनलाई पर्यटकीय मौसम पनि भनिन्छ।
डिसेम्बरदेखि विन्टर (हिउँद) सुरु हुने मौसमविद् बताउँछन्।
Shares
प्रतिक्रिया