ad ad

समाज


हमासको हमलामा परे प्रवेश, खोसियो भण्डारी परिवारको सहारा

हमासको हमलामा परे प्रवेश, खोसियो भण्डारी परिवारको सहारा

गोकुल जोशी
असोज २२, २०८० सोमबार ९:०, कञ्चनपुर

सल्यानको शारदा नगरपालिका–३ साउटोलका २४ वर्षीय प्रवेश भण्डारी २६ भदौमा इजरायल गए। पढाइसँगै काम गरेर पैसा कमाउन विदेश हानिएका थिए, उनी। 

असोज १ गतेदेखि उनले इजरायलमा काम थाले। काम सजिलै थियो। काम गर्दै कलेज पनि गइरहन्थे। भोगटे टिप्नेलगायत कृषि कार्यमा थिए, उनी। एक महिना पूरा भएर तलब आउने बेला हुँदै थियो।

शनिबार बिहान एक्कासी उनी प्यालिस्टिनी विद्रोही समूह हमासको आतंककारी आक्रमणमा परे। हमास समूहका आतंककारीले चलाएको गोली प्रवेशमाथि बज्रियो। 

साउटोलकी ४६ वर्षीया चन्द्रिकाको परिवारको सहारा चुडियो। चन्द्रिकाका एक्ला छोरा थिए, प्रवेश। छोरीको बिहे भइसक्यो। उनी सुर्खेत बस्छिन्। प्रवेशका बुवाआमा मात्रै साउटोलमा बस्छन्।

‘परिवारको एक्लो छोरो थियो, आमाबुवाको बुढेसकालको सहरा टुटेको छ,’ प्रवेशकी काकी नाता पर्ने शोभा सेजवाल लामिछाने नेपालखबरसँग भनिन्, ‘आशा बोकेर गएको छोरो विदेशमा अस्तायो।’

भण्डारीको साउटोलमा खान पुग्नलाई पनि खेत छैन। भएको खेतको उब्जनिले तीन महिना पनि पुग्दैन। प्रवेशका बुवाले गाउँमै मजदुरी गर्छन्। थोरै बाख्रा पालेका छन्। त्यहीँबाट आएको पैशाले भण्डारीको घर खर्च चल्छ। 

प्रवेशले पढाइमा कहिल्यै खर्च गर्नु परेन। उनले कक्षा ८ सम्मको पढाइ गाउँकै ज्योतिकुञ्ज स्कुलमा गरे। 

कक्षा १० सम्म एमएम बोर्डिङ स्कुलमा पढेका थिए प्रवेशले। कक्षा १२ दाङको तुलसीपुरस्थित गोरखा बोर्डिङ स्कुलबाट पढेका उनले बीएससी एग्रिकल्चर सुदूरपश्चिम विश्वविद्यालयबाट गरेका थिए। 

‘पढाइमा धेरै राम्रो थियो, लगनशील भएर पढ्थ्यो,’ शोभा भन्छिन्, ‘प्रवेशको दुःखद खबरले पूरै गाउँ शोकमग्न छ।’ छोरा अनलाइन आएर कुरा गर्ने आशमा बसेका आमाबुवा सम्हालिन सकेका छैनन्। 

शुक्रबार राति ९ बजेपछि प्रवेशसँग परिवारको सम्पर्क टुटेको थियो। फेसबुकको ‘फेमिली ग्रुप’मा काकी शोभालाई उनले आमाबुवासँग भोलि कुरा गर्ने भनेर एसएमएस छोडेको थिए। 

शोभालाई आइतबार बेलुका इजरायलबाट आएको सल्यानको त्रिवेणी–१ का प्रमोद केसीको फोनले झस्कायो। प्रमोदले सँगै रहेका प्रवेशलाई बचाउन नसकिएको बताएका थिए। 

‘प्रमोद गोली लागेर ढल्यो, बचाउँनै सकिएन, हामी पनि भोकतिर्खा सहेर त्रासमा बाँचेका छौँ,’ प्रमोदको भनाई उद्धृत गर्दै शोभाले भनिन्।

इजरायलमा फसेका नेपाली विद्यार्थीले सरकारलाई चाँडो उद्धारको लागि अपिल गरेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका ४९ जना विद्यार्थी भदौँ अन्तिम साता ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका थिए। 

इजरायलविरुद्ध प्यालिस्टिनी विद्रोही हमासले गरेको आतंकवादी आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। 

शनिबार बिहानदेखि इजरायलमा विद्रोही समूह हमासले आक्रमण गरिरहेको छ। सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थीमध्ये १७ जना गाजा क्षेत्रबाट नजिक पर्ने दक्षिणी इजरायलको किबुज अलुमिममा छन्।

यस क्षेत्रमा हमास समूहले आतंकवादी आक्रमण जारी राखेको छ। सुदूरपश्चिम विश्वविद्यालयले पहिलो पटक ११ महिने ‘लर्न एण्ड अर्न’ कार्यक्रममा विद्यार्थीलाई इजरायल लगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .