ad ad

सुदूरपश्चिम


इजरायलबाट छोरा अनलाइन आउने आसमा कुरिरहेकी आमा चन्द्रिका

शनिबार आमाबुवासँग कुरा गर्ने भन्दै प्रवेशले पठाएका थिए एसएमएस
इजरायलबाट छोरा अनलाइन आउने आसमा कुरिरहेकी आमा चन्द्रिका

इजरायलमा रहेका सल्यान शारदा नगरपालिकाका प्रवेश भण्डारी र उनकी आमा चन्द्रिका


गोकुल जोशी
असोज २१, २०८० आइतबार १९:२७, कञ्चनपुर

सल्यानको शारदा नगरपालिका–३ साउटोलकी शोभा सेजवाल लामिछाने सामाजिक सञ्जाल फेसबुकमा प्रवेश भण्डारीको प्रोफाइल हेरिरहन्छिन्। शनिबार बिहान २ बजेपछि शोभाले प्रवेशलाई अनलाइन देखेकी छैनन्। 

शोभाका भतिजा नाता पर्छन्, २४ वर्षीय प्रवेश। शुक्रबार राति ९ बजेपछि प्रवेशको परिवारसँग सम्पर्क टुटेको हो। प्रवेशको घरमा आमाबुवा मात्रै छन्। छोरासँग कुराकानी गर्न उनीहरू शोभाको घर जाने गर्छन्।

शोभाको घरमा वाइफाइ छ। त्यहीँबाट आमाबुवाले प्रवेशसँग कुराकानी गर्छन्। प्रवेशकी ४६ वर्षीया आमा एक्लो छोरासँगको सम्पर्क टुटेपछि विक्षिप्त छिन्।

छोरा अनलाइन आउने र कुराकानी हुने आसमा शोभाको घरमा आमा चन्द्रिका कुरेर बसेकी छन्। 

‘शुक्रबारपछि सम्पर्क नै भएको छैन, उसको अवस्था अज्ञात छ,’ शोभाले नेपालखबरसँग भनिन्, ‘अनलाइन आउँछ कि भनेर हेरेका हेर्‍यै छौँ, अनलाइननै आएको छैन।’

प्रवेशकी दिदी प्रतिक्षा सुर्खेत बस्छिन्। शुक्रबार राति प्रवेशको दिदीसँग कुराकानी भएको थियो। त्यसपछि शोभाले शनिबार बिहान २ बजे पनि प्रवेशलाई अनलाइन देखेकी थिइन्।

‘ग्रुपमा कल गरेको रहेछ, मैले फोन उठाउन पाइनँ, भोलि शनिबार आमाबुवासँग बोल्छु, बोलाइदिनुहोला भनेर एसएमएस छोडेको थियो,’ शोभाले भनिन्, ‘त्यसपछि अनलाइन नै देखिनँ।’

आइतबार बिहान इजरायलमा नेपाली विद्यार्थी पनि आक्रमणमा परेको त्रासद खबर सुनेपछि उनी हडबडाइन्। प्रवेशका साथीहरूलाई उनकी दिदी प्रतीक्षा र शोभाले कति मेसेज गरे। तर कसैले जवाफ दिएका छैनन्। 

छोरासँगको सम्पर्क टुटेपछि आमा चन्द्रिका सम्हालिन सकेकी छैनन्। ‘छोराको अवस्थामा कस्तो छ? जिउँदो छ कि केही ?,’ प्रवेशकी आमा चन्द्रिकाले भनिन्, ‘बुढेसकालको सहारा एक्लो छोरालाई केही भए हामी कसरी बाँच्ने? छोराको खोजी गरेर सुरक्षित घर ल्याइयोस्।’

टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसमा पढ्थे, प्रवेश। स्नातक तह सकेर विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनी इजरायल पुगेका थिए। २६ भदौमा इजरायल गएका उनी असोज १ गतेदेखि काममा लागेका थिए।

सल्यानको शारदा नगरपालिका–२, डाडागाउँका रामबहादुर सेजवालको २२ वर्षीय छोरा विधान सेजवालसँग शुक्रबारयता कुराकानी भएको छैन। छोरा सम्पर्कमा आउने र कुराकानी हुने आसमा छन्, उनी। 

विधान ५ जनाको रामबहादुरको परिवारका एक्ला छोरा हुन्। अन्तिमपटक सम्पर्क हुँदा खुट्टामा चोट लागेको भनेर बताएको रामबहादुरले बताए। 

‘विश्वविद्यालयका सरहरूले छोरा आर्मीको अस्पतालमा छ भनेर भन्नुभएको छ, तर मेरो कुराकानी भएको छैन,’ उनले भने, ‘त्यहाँ रहेका विद्यार्थीहरूले १२-१ बजेतिर कुराकानी गराइदिन्छु भनेका छन्।’ 

कैलालीको टीकापुर नगरपालिका–९, झुंगाका २५ वर्षीय धनबहाुदर चौधरी २५ भदौमा इजरायल गएका थिए। दिनहुँ बेलुका घरमा सम्पर्क गर्ने उनीसँग अहिले भने परिवारको कुराकानी भएको छैन। 

धनबहादुरका बुवा जितबहादुर भन्छन्, ‘शुक्रबार साँझ उसको आमासँग एक घण्टा कुरा भयो, त्यस्तो गाह्रो, अफ्ठ्यारोबारे केही भनेन, त्यसपछि सम्पर्क भएको छैन।’ 

इजरायलविरुद्ध प्यालिस्टिनी विद्रोही हमासले गरेको आतंकवादी आक्रमणमा परेर १२ जना नेपाली विद्यार्थी सम्पर्कविहीन भएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट दुई चरणमा गरेर ४९ विद्यार्थी इजरायल गएका थिए। 

शनिबार बिहानदेखि इजरायलमा विद्रोही समूह हमासले आक्रमण गरिरहेको छ। इजरायलमा अध्ययनका लागि २ सय ६५ नेपाली विद्यार्थी रहेका छन्। तीमध्ये ४९ जना टीकापुर कृषि क्याम्पसका हुन्। 

सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थीमध्ये १७ जना गाजा क्षेत्रबाट नजिक पर्ने दक्षिणी इजरायलको किबुज अलुमिममा छन्। यस क्षेत्रमा हमास समूहले आतंकवादी आक्रमण जारी राखेको छ।

टीकापुर कृषि क्याम्पसका कृषि संकाय प्रमुख सुशील न्यौपानेका अनुसार, आक्रमणमा परेका १७ मध्ये ६ जना विद्यार्थी सम्पर्कमा आएका छन्। ११ जनाको अवस्था अझै अज्ञात छ।

घाइते ४ जनाको अस्पतालमा उपचार भइरहेको छ भने एक जना सुरक्षाकर्मीको सम्पर्कमा छन्। यस्तै अर्का एक विद्यार्थी काम गर्ने फार्मको म्यानेजरको सम्पर्कमा आएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयले पहिलो पटक ११ महिने ‘लर्न एण्ड अर्न’ कार्यक्रममा विद्यार्थीलाई इजरायल लगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .