ad ad

समाज


देशभर वर्षाको सम्भावना, अझै ३ दिन बाहिरिने संकेत छैन मनसुन

देशभर वर्षाको सम्भावना, अझै ३ दिन बाहिरिने संकेत छैन मनसुन

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असोज १६, २०८० मंगलबार ८:१, काठमाडौँ

यतिबेला (मंगलबार बिहान ७ बजे मौसमविद्सँग कुरा गर्दा) देशभर मौसम बदली भएको छ भने कतिपय स्थानमा वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार अहिले बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा मौसम सामान्य बदली भएको छ भने देशका बाँकी प्रदेशमा मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ। 

‘गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने हल्का वर्षा पनि भइरहेको छ’, मौसमविद् महर्जनले भनिन्। 

यस्तै यतिखेर काठमाडौं उपत्यकाको मौसम पनि सामान्य बदलीको अवस्थामा छ। तर पानी भने नपरेको उनले बताइन्। 

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर मौसम सामान्य बदली रहनेछ। 

यस क्रममा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

साथै दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। 
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। 

यस क्रममा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

साथै राति गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। 

अझै ३ दिन मनसुन बाहिरिने संकेत छैन
नेपालबाट मनसुन (वर्षायाम ल्याउने मौसम प्रणाली) बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो, जुन हिजो बितिसकेको छ। 

अझै ३ दिन नेपालबाट मनसुन बाहिरिने संकेत नदेखिएको मौसमविद् बिनु महर्जनको भनाइ छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपास क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव परिरहेको छ। जसका कारण मौसम बदली र वर्षा भइरहेको हो। 

‘मनसुन बाहिरिनलाई न्यून चापीय क्षेत्र कमजोर हुँदै जानुपर्छ’, मौसमविद् महर्जनले भनिन्, ‘कम्तीमा ३ दिनसम्म मनसुन बाहिरिने संकेत देखिँदैन।’

यद्यपि पर्सि बिहीबारबाट माैसम सुधार हुँदै जाने सम्भावना देखिएको पनि उनले बताइन्। 

सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गरिएको छ। त्यसपछि मौसमविद्ले पुनः अर्काे ३ दिनको मौसम अनुमान गर्ने गर्छन्।  

मौसमी भाषाको अर्थ
मौसमविद्का अनुसार मौसम सफा भनेको पूरै आकाश छ्याङ हुनु, मुख्यतया सफा भनेको २५ प्रतिशत आकाशमा बादल, आंशिक बदली भनेको २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाक्नु, साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म आकाशमा बादल, अधिकांश बदली भनेको ७६ देखि ८८ प्रतिशतसम्म आकाश बादलले ढाक्नु र पूर्ण बदली भनेको ७६ प्रतिशतदेखि ८८ प्रतिशतसम्म आकाशमा बादल हुनु हो।  

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले खासमा दिनको अर्थमा प्रयोग गरेको छ। दिउँसो भनेको बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय बुझ्नुपर्ने मौसमविद् बताउँछन्। यस्तै राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयलाई बुझ्नुपर्ने मौसमविद्को भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .