ad ad

समाज


काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा घाम, बाहिरिन लागेको हो मनसुन?

काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा घाम, बाहिरिन लागेको हो मनसुन?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असोज १२, २०८० शुक्रबार ७:१२, काठमाडौँ

यतिबेला (शुक्रबार बिहान) काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा घाम लागेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बिहान करिब ७ बजे दिएको जानकारीअनुसार यतिखेर देशभर कतै पानी परेको छैन, हिमाली भेगबाहेक देशका बाँकी स्थानमा सामान्यतया मौसम सफा छ। 

‘हिमाली भेगमा भने आंशिकदेखि सामान्यसम्म बदली छ’, उनले भने, ‘नत्र पूरै तराईमा घाम लागेको छ, काठमाडौंमा पनि घाम लागिरहेको छ।’

समग्रमा भन्दा देशभर मौसम आंशिक बदलीको अवस्थामा रहेको उनले बताए। ‘आंशिक बदली भनेको घाम पनि देखिनु र कतै–कतै बादल पनि लागेको अवस्था हो’, उनले भने। 

उनका अनुसार तत्काल पानी पर्ने सम्भावना छैन। ‘दिउँसो २/३ बजेपछि वा बेलुकीपख खासगरी पहाडी भूभागमा हल्का वर्षाको सम्भावना देखिन्छ।’

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।  

यस्तै राति कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

काठमाडौंको मौसम
अहिले (शुक्रबार बिहान) काठमाडौं उपत्यकामा घाम लागिरहेको छ। 

मौसमविद् वरुण पौडेलको अनुसमार उपत्यकाको मौसम यतिबेला आंशिक बदली छ। यसको अर्थ कतै कतै बादल पनि देखिएको छ। 

आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९.१ डिग्री सेल्सियस छ। आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्रीसम्म जाने अनुमान रहेको मौसमविद् पौडेलले बताए।

अहिले काठमाडौं उपत्यकाको भिजिबिलिटी (पारदर्शिता) ७ किलोमिटर छ। यो भनेको हवाई उडानका लागि एकदमै राम्रो अवस्था हो। मौसमविद्का अनुसार ५ किलोमिटरदेखि माथिको भिजिबिलिटीलाई राम्रो मानिन्छ। 

मनसुन बाहिरिन केही ढिला हुने
मौसमविद् वरुण पौडेलका अनुसार नेपालबाट मनसुन बाहिरिने सरदर मिति आउने अक्टोबर २ तारिख भए पनि केही ढिला हुने देखिन्छ। 
‘बंगालको खाडीमा न्यून चापीय प्रणाली बनेको छ र त्यो नेपालतर्फ अघि बढिरहेको छ’, उनले भने, ‘त्यसैले त्यो सिस्टम जानुपर्ने हुन्छ, २ तारिख भन्दा २/३ ढिलागरी मनसुन बाहिरिने अनुमान गरेका छौं।’

यस वर्ष नेपालमा मनसुन भित्रिँदा पनि सरदर मितिभन्दा एक दिन ढिलो जुन १४ तारिख अर्थात् जेठ ३१ गते भित्रिएको थियो। मौसमविद्का अनुसार नेपालको पूर्वबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिनेछ। 

मनसुन बाहिरिएपछि वर्षायाम सकिएको मानिन्छ। यसपछिको सिजनलाई पोस्ट मनसुन भनिन्छ। पोस्ट मनसुनको अवधि अक्टोबर र नोभेम्बरसम्म रहन्छ। डिसेम्बरदेखि विन्टर (हिउँद) लाग्ने मौसमविद् बताउँछन्।  

मौसमी भाषाको अर्थ

मौसमविद्का अनुसार मौसम सफा भनेको पूरै आकाश छ्याङ हुनु, मुख्यतया सफा भनेको २५ प्रतिशत आकाशमा बादल, आंशिक बदली भनेको २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाक्नु, साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म आकाशमा बादल, अधिकांश बदली भनेको ७६ देखि ८८ प्रतिशतसम्म आकाश बादलले ढाक्नु र पूर्ण बदली भनेको ७६ प्रतिशतदेखि ८८ प्रतिशतसम्म आकाशमा बादल हुनु हो। 

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले खासमा दिनको अर्थमा प्रयोग गरेको छ। दिउँसो भनेको बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय बुझ्नुपर्ने मौसमविद् बताउँछन्। यस्तै राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयलाई बुझ्नुपर्ने मौसमविद्को भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .