ad ad

समाज


निकुञ्जका पुष्पा र अञ्जली मंगलबार कोशी पठाइँदै


नेपालखबर
असोज ८, २०८० सोमबार २१:३०, काठमाडौँ

चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ। गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन्।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार बिहान ११ बजेदेखि २ बजेभित्र ती गैँडा खोरमा राखेर कोशी पठाइने छ। उनले भने, ‘शीतल दिन भयो भने चाँडै नै पठाउँछौँ, गर्मी भयो भने पनि २ बजेभित्र पठाउँछौँ।’

दुई वटा खोरमा अलगअलग राखेर गैँडा पठाइँदैछ।

गैँडालाई लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली कोशी जानेछ। वरिष्ठ पशुचिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा भेटेरिनरी चिकित्सकको टोलीसमेत गैँडासँगै कोशी जानेछन्।

बुधबार गैँडालाई कोशीमा पु¥याएर खुल्ला खोरमा राखिने छ। कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा लान लागिएको हो।

विभागका तत्कालीन उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो। 

सुरुमा यहाँबाट लगिएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने छ। कोशीको पथरी सेक्टर कार्यालय नजिकै आरक्ष सुरक्षार्थ सेनाको पोष्ट रहेको क्षेत्र नजिक गैँडा राखिँदै छ।

प्रकृतिमा छाड्ने समयमा गैँडा थप गरेर छोडिने छ। 

केही वर्षअघि आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो। तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट आरक्षमा गैँडा ल्याउनुपर्ने माग गरेका थिए।

सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालेको थियो।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी पठाउन लागिएको बताए। 

ती दुवै पोथी गैँडा हुन्। ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो।

तिनीहरूलाई पुष्पा र अञ्जली नामकरण गरिएको छ।

अहिले पुष्पा तीन वर्ष नौ महिना र अञ्जली दुई वर्ष छ महिनाका भएका छन्। ती गैँडा अहिले पनि मानव बस्तीमा आएर दुःख दिने गरेका छन् । तिनै गैँडा पठाउन लागिएको पुनले बताए। 

पछिल्लो गणनाअनुसार निकुञ्जमा छ सय ९४ गैँडा रहेको तथ्याङ्क छ। पछिल्लो गणनाका क्रममा यी गैँडा उद्धार गरेर ल्याइएकाले तथ्याङ्कमा समावेश गरिएको छैन। पछिल्लो गणनाअनुसार देशभर सात सय ५२ गैँडा रहेका छन्।

हाल पठाउन लागिएका गैँडा हुर्किएपछि थप भाले पठाएर प्रकृतिमा छोड्ने योजना बनाइएको छ। 

निकुञ्जबाट यसअघि बर्दिया, शुक्लाफाँटा र विदेशीलाई उपहारमा गैँडा पठाइएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .