समाज


मलंगवामा दुई समूहबीच झडप हुँदा ८ जना घाइते, एकको अवस्था गम्भीर

मलंगवामा दुई समूहबीच झडप हुँदा ८ जना घाइते, एकको अवस्था गम्भीर

दुई समुदायबीच झडप भएपछि जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण सुनसान सर्लाही सदरमुकाम मलङ्गवा। तस्बिर : विश्वनाथ ठाकुर/रासस


नेपालखबर
असोज ५, २०८० शुक्रबार १०:१६, सर्लाही

सर्लाही सदरमुकाम मलंगवामा भएको झडपमा परेर ८ जना भन्दा धेरै घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गएराति स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्नुअघि मलंगवा- ३ स्थित सरस्वती टोलमा दुई समूहबीच झडप भएको थियो। 

झडपमा परेर घाइते भएका मलंगवा ७ का रुपेश यादवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

‘यादवलाई मलंगवास्थित प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि राति नै थप उपचारको लागि वीरगञ्ज लगिएको छ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपेन्द्र पञ्जियारले नेपालखबरसँग भने, ‘घाइते ७/८ जनाको मलंगवामै उपचार भइरहेको छ।’

बिहीबार राति ८ बजे गणेशको मूर्ति सेलाएर फर्किएको मलंगवा- ३ स्थित गणेश टोलको समूह (हिन्दू) माथि मलंगला- ३ स्थित सरस्वती टोल (मुस्लिम)का केही उच्छृंखल व्यक्तिले ढुंगा प्रहार गरेपछि अवस्था बिग्रिएको डीएसपी पञ्जियारले बताए। 

‘गणेशको मूर्ति मलंगवा- ३ स्थित सरस्वती टोलको बाटो हुँदै एउटा समूह मलंगवा -४ मा रहेको कामत पोखरीमा विसर्जन गरेर फर्किंदै थियो,’ घटना विवरण सुनाउँदै पञ्जियारले भने, ‘मूर्ति विसर्जन हुने भनेपछि हामीले दिउँसैदेखि सुरक्षा व्यवस्था कडा पारेका थियौँ। मूर्तिसहितको जुलुशको अघि पछि नै प्रहरीको गाडि थियो। तर, मूर्ति विसर्जन गरेर फर्किरहेको समूह सरस्वती टोलमा आएपछि बत्ति गयो। अँध्यारोको मौका छोपेर त्यहिबेला कसैले भिडमा ढुंगा प्रहार गरेपछि अवस्था बिग्रिएको हो।’

त्यसक्रममा दुबै पक्षबाट ढुंगा प्रहार हुँदा दुबै समुदायका गरेर ७/८ जना घाइते भएका उनले बताए।

घाइते युवकमाथि छुरा प्रहार भएको छ। उनलाई भिडमा कसले छुरा हान्यो खुलेको छैन। ढुंगामुढा प्रहारपछि केही पसल र घरमा उच्छृंखल भिडले आगजनीसमेत गरेको छ।

आगजनीबाट भएको क्षतिको विवरण आइनसकेको डीएसपी पञ्जियारले बताए। घटनामा संलग्न कसैलाई प्रहरीले पक्राउ गरेको छैन। मलंगवाको अवस्था थप विग्रिन नदिन स्थानीय प्रशासनले बिहीबार राति देखि नै मलंगवा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। 

गएको भदौ २१ गते पनि कृष्णको मूर्ति विसर्जन गर्ने क्रममा हिजो अझड भएकै ठाउँमा दुई समुदायबीच झडप हुँदा तीन दिनसम्म मलंगवा तनावग्रस्त बनेको थियो। 

त्यतिबेला पनि स्थानीय प्रशासनले मलंगवमा कर्फ्यु लगाएको थियो। मलंगवामा नियाेजित रुपमा साम्प्रदायिक सद्भाव  विथाेल्न एउटा समूह लाग्दै आएकाे निष्कर्षमा स्थानीय प्रशासन पुगेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .