चितवनको इच्छाकामना गाउँपालिका घर भई माडीमा रहेको जनकल्याण माविमा कक्षा १० मा अध्ययनरत इन्द्रबहादुर चेपाङ अहिले बिहान सबेरैदेिख साँझसम्म विद्यालयमै व्यस्त रहन्छन्।
माडी नगरपालिका–६ कल्याणपुरमा रहेको यो विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएसँगै यहाँ अध्ययन गर्ने विद्यार्थी घरमाबाहेक विद्यालयमा समेत कृषि कार्यमा व्यस्त रहन थालेका छन्।
विकास केन्द्रले सञ्चालन गरेको यस कार्यक्रममा सहभागी भएसँगै कापी कलम किन्ने, खाजा खर्चदेखि अन्य व्यक्तिगत खर्चका लागि परिवारसँग हारगुहार गर्नु नपरेको उनको भनाइ छ। ‘पढाइसँगै कामअनुसार मासिक तीन हजार रुपैयाँ हाराहारी कमाउने गरेको छु’, उनले भने, ‘अब केही समयपछि आफू कृषि कर्ममा लागेर कमाउनसक्ने उनले बताए।
विद्यालयमा नै बसेर यस कार्यक्रम सहभागी हुँदै आएका उनी अहिले महिनाको आठ हजार कमाउने गरेको बताउँछन्। ‘पढ्न पाइँदैन कि भन्ने थियो। अब कक्षा १२ सम्म अध्ययनका लागि सहज भएको छ।’ आफूले कमाएर घरपरिवारलाई समेत दिने गरेको उनले बताए।
सोही कार्यक्रममा सहभागी कक्षा ११ की सञ्जिता लामिछाने घरमा खासै काम गर्ने बानी नपरे पनि विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएपछि घरमा समेत काम गर्ने बानी परेको बताउँछिन्। अध्ययनका लागि परिवारसँग पैसा माग्दा हुने समस्या अहिले नरहेको उनको भनाइ छ।
उनी अहिले विद्यालयमा साथीहरूसँग काम गर्दा छुट्टै महसुस हुने गरेको सुनाउँछन्। अहिले पढाइका लागि परिवारसँग खर्च माग्नु नपरेको भन्दै उनले भने, ‘अब कृषि कर्म गरेर खान सक्छु भन्ने आँट यस कार्यक्रमले दिएको छ।’
आर्थिक वर्ष २०७८र८९ सालदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट छनोटमा परी पढ्दै कमाउँदै कार्यक्रममा लागू भएसँगै यस विद्यालयमा अध्ययन गर्ने न्यून आय भएका विद्यार्थीलाई अध्ययनका लागि टेवा पुगेको छ। विद्यालयले तीन वटा समूह बनाएर यो कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ। तीन वटा समूहमार्फत १३० जना विद्यार्थीलाई परिचालन गरी कार्यक्रम सञ्चालन गरिएको छ।
कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्ष्य गरी विद्यालयले बाख्रापालन, हाँसपालन, फलफूल, तरकारीखेती तथा खाद्यान्न बालीका लागि समूह विभाजन गरी काम गरिएको कार्यक्रमकी सम्पर्क व्यक्ति एवं विद्यालयकी शिक्षिका टीका खत्रीले जानकारी दिइन्।
अहिले यस कार्यक्रममा सहभागी विद्यार्थीले कामका हिसाबले मासिक तीन हजारदेखि ८ हजारसम्म कमाउने गरेको उनले बताइन्। विद्यालयमा कृषि विषय अध्ययन हुँदै आएको हुँदा यहाँका विद्यार्थीलाई कृषितर्फ नै केन्द्रित गराइएको उनको भनाइ छ। उनले भने, ‘विद्यार्थीलाई श्रमप्रति माया जगाउनका लागि यो कार्यक्रम प्रभावकारी बनेको छ।’
विद्यालयका प्रधानाध्यापक रामबहादुर जिसीले विपन्न वर्गका विद्यार्थीलाई अध्ययनका लागि यो कार्यक्रम प्रभावकारी भएको बताए। उनका अनुसार विद्यालयले उत्पादित सामग्री बिक्री वितरण गरिदिने गरेको छ। तरकारी र खाद्यान्नजस्ता वस्तु स्थानीय बजारमा समेत बिक्री भइरहेको उनको भनाइ छ। उनले भने, ‘यो कार्यक्रममा जोडिएका विद्यार्थी पढाइमा समेत लगनशील बन्न थालेका छन्।’
जिल्लामा हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट छनोटमा परी तीन वटा विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यो कार्यक्रमका लागि गत दुई आवमा केन्द्रले विद्यालयलाई प्रतिवर्ष रु १०र१० लाखका दरले सहयोग गरेको थियो। रासस
Shares

प्रतिक्रिया