ad ad

समाज


९९ वर्षमा पनि छाडेन दुःखले, ‘रोगले होइन, मरिन्छ कि भोकले’

९९ वर्षमा पनि छाडेन दुःखले, ‘रोगले होइन, मरिन्छ कि भोकले’

८४ वर्षे श्रीमती खीरकुमारीसँग ९९ वर्षीय खड्गबहादुर थापा।


ध्रुवसागर शर्मा/रासस
भदौ १९, २०८० मंगलबार २०:१२, गलेश्वर (म्याग्दी)

उमेरले सय वर्ष टेक्नै लागेका म्याग्दी बेनी-२ बगरफाँटका खड्गबहादुर थापासँग के छैन? स्वस्थ शरीर छ। हँसिलो मुहार छ। लौरो टेक्दै भए पनि गाउँघर घुम्नसक्ने तागत पनि छ। त्योभन्दा बढी अनुभवले खारिएको स्वस्थ मस्तिष्क छ। राणा शासनदेखि पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दाका साक्षी उनीसँग सबथोक भए पनि जीवनभर ‘सुख’ भने जहिल्यै टाढै बस्यो। 

बगरफाँटमा भाइको गोठमा ८४ वर्षे श्रीमती खीरकुमारी थापासँगको जीवन गुजारा सरकारले दिने सामाजिक सुरक्षाबापतको भत्ता र केही मनकारीले दिने सहयोगले धानेको छ। छोराछोरी, नातिनातिना र पतानी पुस्तासँग खेल्दै रमाउने गर्ने उमेरमा उनीहरूको साथ छैन। 

बुढेसकालको साहरा बन्नुपर्ने छोरा मीनबहादुर ४२ वर्षअघि नै परलोक भइसकेका छन् भने बोल्न नसक्ने एक मात्र छोरी बेनीको तोराखेतमा भएकाले आइरहन पाउँदिनन्। उसो त शरीरमा दीर्घरोग नभए पनि यी दम्पती कहिलेकाहीँ बिरामी हुँदा निकै दुःख पाउने गरेको छिमेकी टेकबहादुर कार्की बताउँछन्। 

‘जसोतसो उहाँहरूको गुजारा चलिरहेको छ, उहाँहरू भाइको गोठमा बसिरहनुभएको छ। बिरामी हुँदा अलिक बढी समस्या हुन्छ’, उनले भने, ‘तर पनि आफन्त, इष्टमित्रको सहयोग भइरहेको छ।’ तर बिरामी भएकै कारण ठूलो उपचार भने गर्नु परेको छैन।

दम्पतीको दिनचर्या सामान्य व्यक्ति जस्तैगरी बित्छ। आगो बाल्न दाउरा र झिँजा बटुल्नै पर्‍यो भने बाँच्नका लागि खानै पर्‍यो। त्यसका लागि सरकार र केही संस्थाको सहयोग भइरहेकामा उनले खुसी व्यक्त गरे। 

बिहानै उठेर नित्यकर्म गरी भगवान्‌को आरधना गर्ने थापाको पुरानै बानी हो। त्यसपछि लठ्ठी टेक्दै गाउँ डुल्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूधदही ल्याउने उनको काम हो। दिउँसोको समयमा छिमेकीसँग ठट्यौली पारामा कुरा गर्ने र सबैलाई हसाउने बानीले पनि उनलाई स्वस्थ राखिरहेको छिमेकी पदमपाणि शर्माको भनाइ छ। 

जीवनको उत्तरार्धतिर आइपुग्दा पनि उनमा बाँच्ने चाहना अझै सकिएको छैन। उनमा अझै १० वर्ष बाँच्छु भन्ने आत्मविश्वास छ।

‘लिएर आएको कर्म नभोगी कसैलाई छुट छैन’, थापाले भने, ‘सम्पत्ति कमाएँ, अर्कैलाई भयो, अहिले सम्पत्ति खाने मान्छेले फर्केर पनि हेर्दैनन्।’ ज्योतिषीले एक सय १० वर्षको आयु बताएको भन्दै उनी ठट्यौली शैलीमा भन्छन्, ‘मर्दिनँ बाबु सानोतिने रोगले, बरु भोकै मरुँला, रोगले मलाई लैजाँदैन।’ 

थापा दम्पतीलाई समय-समयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति तथा मनकारी गाउँलेबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ। कसैलाई तीतो बचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरुलाई नदेखाउने स्वभावका थापाप्रति गाउँलेले दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .