समाज


हेल्लो! सरकारमा अब २४ घण्टा गुनासो राख्न सकिने

हेल्लो! सरकारमा अब २४ घण्टा गुनासो राख्न सकिने

हेल्लो! सरकारमा प्रधानमन्त्री। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
भदौ १७, २०८० आइतबार १३:२८, काठमाडौँ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेल्लो! सरकारमा अब २४ घण्टा गुनासो राख्न सकिने भएको छ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा हेल्लो! सरकारको २४ घण्टा शुभारम्भ कार्यक्रमको थालनी गरे।

उनले उक्त कार्यक्रममा सहभागी केही सेवाग्राहीका गुनासो पनि सुनेका छन्। 

सर्वसाधारणले सरकारबारेको गुनासो टिपाउन एनटीसी र एनसेलको नम्बरबाट ट्रोल फ्री नम्बरमा फोन गर्न सक्छन्। 

हेल्लो! सरकारको टोल फ्री नम्बर ११११ मा गुनासो राख्न सकिनेछ। नेपाल सरकारले सर्वसाधरणका गुनासो हेलो सरकारमार्फत टिप्ने गरेको छ।

शुभारम्भ समारोहमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी थिए।

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तार गरिएको कार्यक्रममा एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ।

गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ।

हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ।

हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी त्यहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ।

त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको जनाइएको छ। 

हेल्लो! सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ। 

गुनासोहरू सम्बोधनका निम्ति र्‍यापिड रेस्पोन्स टीमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बताए।

उक्त टिमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए, नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ।

हेलो सरकारको २४ सै घण्टा सञ्चालन हुने सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्रीले जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .