ad ad

समाज


क्यासिनो रोयलको डमी कारोबारलाई अदालतको मान्यता- २२ करोड सापटी लिएर खरिद, लाख पनि बचत नहुनेलाई बिक्री

२५ करोडको क्यासिनो किन्ने मेरो हैसियत नै होइनः जयन्ती थापा
क्यासिनो रोयलको डमी कारोबारलाई अदालतको मान्यता- २२ करोड सापटी लिएर खरिद, लाख पनि बचत नहुनेलाई बिक्री

क्यासिनो रोयलका सञ्चालक सुरेन्द्रबहादुर सिंह


नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १०:१७, काठमाडौँ

काठमाडौंको होटल याक एन्ड यतीभित्र क्यासिनो रोयल सञ्चालन गर्ने सुरेन्द्रबहादुर सिंहले सरकारलाई तिर्नुपर्ने करोडौँ राजस्व तिरेका छैनन्। आर्थिक वर्ष ०७६/७७ सम्ममा ३३ करोड ४३ लाख १५ हजार रुपैयाँ रोयल्टी पर्यटन विभागलाई बुझाउनुपर्नेमा उनी अहिलेसम्म भागीभागी हिँडेका छन्।

उता राजस्व नतिर्ने। यता कम्पनीको खातामा भने आम्दानी चढेको चढ्यै। ३३ करोड राजस्व नतिर्ने त्यही कम्पनीको वासलात हेर्दा ०७४/७५ सम्मको मात्रै हिसाब गर्दा २ अर्ब ५५ करोड आम्दानी गरेको देखिन्छ। एकै वर्षमा ४० करोडसम्म उसले कारोबार गरेको विवरण सरकारकै विभिन्न निकायमा बुझाएको प्रतिवेदनमा देख्न सकिन्छ।

आश्चर्यजनक त के भने उनले तिर्दै नतिरेको राजस्व देखाएर विशेष अदालतले उनको करोडौं रकमलाई वैध बनाइदिएको छ। कतिपय नक्कली र देखावटी कारोबारले समेत मान्यता पाएको छ।

सिंहले केही डमी कारोबारी खडा गरेर कालो धनलाई सेतो बनाएका धेरै तथ्य विवरण सम्पत्ति शुद्धीकरण विभागले अभियोगपत्रमा औँल्याएको थियो। अदालतले ती कुनैलाई पनि कसुरको परिभाषाभित्र राखेन। विशेषको फैसलाले सिंहको २७ करोडभन्दा बढीको शंकास्पद कारोबार एवं सम्पत्तिले वैधता प्राप्त गरेको छ।

उक्त फैसलाका विरुद्ध विभागले सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्ने ठाउँ भए पनि विशेष अदालतले सिंहलाई के आधारमा सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दियो र उनको अस्वाभाविक आर्जन तथा शंकास्पद कारोबारलाई कुन तर्कका सहारामा वैधता दियो भन्ने प्रश्न अनुत्तरित छ। फैसलाको पूर्ण पाठ आउन बाँकी नै छ। तर सिंहले पाएको सफाइप्रति विभागका अधिकारी तथा सरकारी वकिलहरू सन्तुष्ट हुन सकिरहेका छैनन्।

शंकास्पद कारोबारको यो विवरण
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले २०७५ मंसिर २४ मा शंकास्पद कारोबारको एउटा सूची नै दिएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई विस्तृत अनुसन्धान गर्न भन्यो। त्यसमा सिंहको गिल्ट इन्भेस्टमेन्ट प्रालिका अपत्यारिला आर्थिक कारोबारका विवरण थिए। ती कारोबारहरू सम्पत्ति शुद्धीकरणको संवेदनशीलताका हिसाबले जोखिमयुक्त रहेको भनी पत्रमा उल्लेख गरिएको थियो।

विवरणअनुसार, गिल्ट इन्भेस्टमेन्ट कम्पनीका नेपालका ८ वटा वाणिज्य बैंकमा १३ वटा खाता छन्। ती सबै खातामा एकदमै अस्वाभाविक र प्रयोजन पनि नखुल्ने खाल कारोबार भएका छन्। ती खाताहरूमा ८२ करोड रूपैयाँ जम्मा गरेर ८२ करोड नै झिकिएको छ।

कम्पनीको सिभिल बैंकको खाताको कारोबार हेरौँ, जहाँ २०७२ भदौ ३ गते एकै दिन भीमबहादुर रोका नामका व्यक्तिले १८ पटक चेकबाट रकम जम्मा गरिदिएका छन्। १६ वटा ५० लाख रुपैयाँका चेक जम्मा गरिएको छ भने २ वटा चेक क्रमशः २५ लाख र २० लाखका छन्। यी सबैको एकमुष्ट रकम जोड्दा ८ करोड रुपैयाँ हुन्छ।

एकै दिनमा एकै व्यक्तिबाट यति ठूलो रकमका यति धेरै चेक किन जम्मा गरिए? जम्मा गर्ने व्यक्तिले कुन स्रोतबाट त्यो रकम प्राप्त गर्‍यो? अनुसन्धानबाट खुल्दैन।

यो रकम कम्पनीमा जसरी जम्मा गरिएको छ, केही दिनपछि त्यसरी नै झिकिएको छ। अर्थात् २०७२ भदौ ८ गते एकै दिन ८ वटा चेकमार्फत ४ करोड रुपैयाँ झिकिएको छ। तीमध्ये ३ वटा चेकको डेढ करोड रुपैयाँ भीमबहादुर रोकाले नै पाएका छन्। बाँकी ५ वटा चेकबाट उस्तैउस्तै नामका ३ वटा कम्पनीको खातामा साढे २ करोड रुपैयाँ गएको छ।

त्यसपछि ६ वटा चेकबाट बाँकी रकम झिकिएको छ र गिल्ट इन्भेस्टमेन्ट कम्पनीको खाताबाट ७ करोड ११ लाख रुपैयाँ खर्च देखाइएको छ।

उल्लिखित शंकास्पद कारोबारका बारेमा भीमबहादुर रोकाले देखाउनका लागि मात्र रकम जम्मा गरिदिएको र सबै रकम फिर्ता पाइसकेको भनेर बयान दिएका छन्। बैंक स्टेटमेन्टले पनि उनको बयानलाई पुष्टि गर्छ।

गिल्ट इन्भेस्टमेन्ट प्रालि (क्यासिनो रोयल) को आम्दानी र कर दाखिला विवरण (रूपैयाँमा)

आर्थिक वर्ष

जम्मा आय (कारोबार)

करयोग्य आय

दाखिला गरेको कर

०६६/६७

१८,१६,०३,८२३

०६७/६८

३२,८९,३९,५७८

०६८/६९

३१,८५,५२,११४

०६९/७०

३०,३८,५८,८९७

०७०/७१

३६,०८,४५,३६८

०७१/७२

२५,१७,४३,०१२

०७२/७३

१३,३०,९९,३२७

०७३/७४

४०,०७,६९,२४३

०७४/७५

२७,०७,४२,०७२

०७५/७६

आय विवरण पेस नगरेको

०७६/७७

आय विवरण पेस नगरेको

जम्मा

२,५५,०१,५३,४३४

स्रोतः सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रतिवेदन

सापटी लिएर २२ करोडको कम्पनी खरिद?
सुरेन्द्रबहादुर सिंहको मात्र सेयर रहेको यस कम्पनीको १३ लाख ३० हजार कित्ता सेयर ७६ रुपैयाँका दरले हरिश चन्दबाट २०७२ असार १८ गते १० करोड १० लाख ८० हजार रुपैयाँमा खरिद गरेको कम्पनी रजिस्ट्रारको कार्यालयका कागजातले देखाउँछ। उल्लिखित सेयर खरिद गर्दा रकमको स्रोत अझै अनौठो देखाइएको छ।

जसमा प्रदीप रिमालबाट २ करोड ९८ लाख, हेमन्तराज कोलाक्षपतिबाट २ करोड, रोशनीतारा वज्राचार्यबाट २ करोड ४० लाख, भीम रोकाबाट ९ करोड, हरिश चन्दबाट ५ करोड र ३ करोड १९ लाख ८० हजार गरी दुईपटक सापटी लिएको देखाएका छन्।

कम्पनीको सेयर पनि २०७० साउन २५ गते प्रतिकित्ता १०० रूपैयाँका दरले १२ करोड ७० लाख रूपैयाँ थपेका छन् र चुक्ता पुँजी २२ करोड ३७ लाख ८० हजार रूपैयाँको बनाएका छन्।

उनको यो कारोबार हेर्दा या त सरसापट गरेरै २२ करोडको कम्पनी जोडेको भन्नुपर्ने हुन्छ। यति ठूलो व्यावसायिक कम्पनी खरिद गर्दा करोडौँ रुपैयाँ दिने सापटी दिनेहरू को हुन् भन्ने अर्को खोजीको विषय हुन सक्छ। तर, अनुसन्धान प्रतिवेदन संलग्न कागजातहरूको अध्ययन गर्दा थप रोचक तथ्य भेटिन्छन्।

खासमा यी देखाउनका लागि मात्र गरिएका कारोबार थिए। त्यसका लागि उनले केही घरायसी तमसुकजस्ता कागजात पेस गरी सापटी रकम भनी प्रमाणित गर्न खोजेका छन्। र, बयानमा सापटी हुनै हो भनेका छन्।

सिंहलाई ८ करोड रूपैयाँभन्दा बढी सापटी दिने हरिश चन्द को हुन् र उनी कहाँ छन् भनी न अनुसन्धान टोलीले भेटाउन सक्यो न त सिंहले नै ती व्यक्ति यिनै हुन् भनेर उभ्याउन सके।

हेमन्तराज कोलाक्षपतिले सिंहलाई सापटी दिएको भनी लेखिएको कागजमा दस्तखत नै आफ्नो नभएको बयान दिएका छन्। प्रदीप रिमाल र रोशनीतारा बज्राचार्यले सिंहलाई रकम दिएको स्वीकार्दै फिर्ता पनि पाइसकेको भनेका छन्। त्यो रकम फिर्ता गर्न सक्ने वैध आय आर्जनको स्रोत भने सिंहले देखाउन सकेका थिएनन्।

अवैध तरिकाले विभिन्न कसुरबाट आर्जन गरेको गैरकानुनी सम्पत्तिलाई वैध गराउने मनसायले विभिन्न मानिसहरूसँग सापटी लिने र केही समयपछि त्यही रकम फिर्ता दिने गरेको सम्पत्ति शुद्धीकरणको अनुसन्धानले पत्ता लगाएको छ।

भीम रोका र उनी आबद्ध कम्पनीहरूबाट सिंहको कम्पनी गिल्टको खातामा रकम आएको र फिर्ता भएको विषयमा अनुसन्धान टोलीले भीमसँग बुझेको थियो। त्यतिखेर सिंहले सहयोग मागेकाले देखाउनका लागि मात्र उक्त रकम खातामा ट्रान्सफर गरेको र फिर्ता लिएको भन्दै भीमले कृत्रिम कारोबारका बारेमा खुलासा गरेका थिए।

एकातिर राष्ट्र बैंकले नै शंकास्पद सूचीमा राखी थप अनुसन्धानका लागि कारोबारको निगरानी प्रतिवेदन विभागमा पठाइदिनु, अस्वाभाविक रकम सापटीका रूपमा खातामा आउनु, अस्वाभाविकरूपमै खाताबाट बाहिरिनु, अनि कारोबारमा जोडिएका व्यक्तिहरूले परस्पर बाझिने खालका बयान दिनुले पनि सिंहको सम्पत्ति र कारोबार कैफियतपूर्ण छ भन्ने कुरा सामान्य आँखाले पनि देख्न सकिन्छ।

गिल्ट इन्भेस्टमेन्ट प्रालिको सिभिल बैंक, मुख्य शाखाको खातामा भीमबहादुर रोकाले रकम जम्मा गरेको र भुक्तानी लिएको विवरण

‘अपराध’को कमाइ
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिंहको खास कमाइको स्रोत गैरकानुनी धन्दा हो भनेर केही घटनाहरु पनि औँल्याएको छ। तीमध्ये केही घटना अदालतसम्मै पुगेर पनि पुष्टि भइसकेका छन्।

जस्तो कि २०६९ वैशाख १५ गते बाँकेको नेपालगन्जस्थित स्नेहा होटलको ह्याप्पी आवर मिनी क्यासिनोमा केही व्यक्तिहरू भारतीय रुपैयाँको अवैध कारोबार गरिरहेका छन् भन्ने सूचना प्रहरीले प्राप्त गर्‍यो। प्रहरीको टोली तत्कालै होटलमा पुग्यो। तलासी लिँदा होटलको काउन्टरमा भारतीय रुपैयाँ ३ लाख २२ हजार फेला पर्‍यो।

सुरेन्द्रबहादुर सिंह प्रबन्ध सञ्चालक रहेको क्यासिनोबाट नेपालमा प्रतिबन्धित भारु एक हजार र पाँच सय दरका नोटहरूको बिटो नै बरामद भयो। प्रहरीले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७(१) बमोजिम बरामद भएको भारतीय मुद्रा जफत गरी सिंहलाई जरिवाना तथा सजायसमेत गरी पाउने मागदाबीको अभियोगपत्र बाँके जिल्ला अदालतमा पेस भएको थियो। उक्त मुद्दामा सुरु बाँके जिल्ला अदालतबाट सिंह दोषी ठहर भई तत्कालीन पुनरावेदन अदालत नेपालगन्जबाट समेत त्यही फैसला सदर भएको छ।

यस्तै विदेशी मुद्रामा उनले अमेरिकी डलरको पनि अवैध कारोबार गर्ने गरेको पाइएको छ।

काठमाडौँको दरबारमार्गस्थित सिंहको एकल स्वामित्वमा रहेको गिल्ट इन्भेस्टमेन्ट प्रालिद्वारा सञ्चालित क्यासिनो रोयलबाट २०७३ मंसिरमा अमेरीकी डलर ९ हजार १ सय ९९ बरामद भएको थियो। तत्कालीन अवस्थामा जसको विनिमय मूल्य १० लाखभन्दा माथि थियो। यति ठूलो रकमको विदेशी मुद्रा अवैधरुपमा राख्नु सरासर गैरकानुनी कार्य थियो। र, रोयल क्यासिनो यस्तो कारोबारको अखडा थियो भन्ने पुष्टि हुन्छ।

अवैधरूपमा जुवा खेलाएको आरोपमा पनि पक्राउ परी सिंहले बेलाबेला मुद्दा खेपिरहेकै हुन्। विदेशी मुद्राको अवैध कारोबार र अन्य अपराधबाट कमाएको पैसालाई वैध बनाउन उनले विभिन्न कम्पनी खडा गरेको देखिन्छ। त्यसैले ती कम्पनीको प्रायः कारोबार पनि पत्यारलाग्दो छैन। उनले अवैध तरिकाले आर्जन गरेको गैरकानुनी स्रोतको सम्पत्तिलाई वैध गराउने मनसायले विभिन्न मानिसहरुसँग सापटी लिने, अन्य कुनै आम्दानीको वैध स्रोत नहुँदा नहुँदै पनि सापटी लिएकै रकम फिर्ता गर्ने र सापटी लिएको लिखतलाई आफ्नो सम्पतिको स्रोतको रुपमा देखाएर कानुनी कारबाहीबाट उन्मुक्ति खोज्ने शैली उनले अपनाएको देखिन्छ।

२५ करोडको सम्पत्ति किन्नेसँग जम्मा ५१ हजार बचत
तिनै सुरेन्द्रबहादुर सिंहले गिल्ट इन्भेस्टमेन्ट प्रालि नामको कम्पनी २०७५ भदौ १७ गते जयन्ती थापालाई २५ करोड रुपैयाँमा बिक्री गरेको देखाएका छन्।

कम्पनी रजिस्ट्रार कार्यालयका कागजातअनुसार, उक्त सेयर खरिद–बिक्री हुँदा जयन्ती थापाले आफ्नो लक्ष्मी बैंकको खाता नं. ०२१२३०००९२७ को चेक नं. ००४७२२५६०२ बाट रु.२५ करोड दिएको देखिन्छ।

२०७५ भदौ १८ गते दिएको उक्त चेक जयन्ती थापाले नै त्यसको पर्सिपल्ट भदौ २० मा सुरेन्द्रबहादुर सिंहको लुम्बिनी विकास बैंकमा रहेको खाता नं.०१८१११२००५१४८८०००००१ मा जम्मा गरिदिएकी छन्।

उक्त चेकको भुक्तानी भने नभएको भन्ने लुम्बिनी विकास बैंक र लक्ष्मी बैंकको कारोबार विवरणबाट देखिन्छ।

कम्पनी रजिस्ट्रार कार्यालयमा उक्त सेयर २५ करोड रुपैयाँमा किनबेच भएको र रकम भुक्तानी पनि गरिसकेको भन्ने झुटा व्यहोरा बुझाएको अनुसन्धानबाट खुलेको छ। बैंकका कागजात विवरणले ६ करोड २४ लाख रुपैयाँभन्दा बढी भुक्तानी भएको देखाउँदैन। त्यसैले उक्त २५ करोडको कारोबार पनि वास्तविक नभई सिंहले कम्पनी बिक्रीबाट प्राप्त रकम भनी वैधानिक आय आर्जनको रुपमा दाबी गर्नका लागि मात्र गरिएको कृत्रिम कारोबार रहेको पुष्टि हुन्छ। यसरी कालो धनलाई सेतो बनाउन उनले कम्पनीको दुरुपयोग गरेको देखिन्छ।

स्वयं जयन्ती थापाले पनि यो कुरा स्वीकार गरेकी छन्। उनले बयानमै भनेकी छन् कि २५ करोडको सेयर खरिद गर्ने आफ्नो हैसियत छैन र कम्पनीको हक हस्तान्तरण गर्दाका बखत देखावटी प्रयोजनका लागि मात्र आफ्ना नामको २५ करोडको चेक जारी गरेको हो।

कतिसम्म भने जयन्ती थापाले २०७९ भदौ ७ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा निवेदन नै दिएर उक्त कम्पनीमा आफ्नो कुनै दाबी वा सरोकार नै नरहेको भनेकी छन्। जसको नाममा कम्पनी नामसारी गरिएको छ र उनीबाट २५ करोड रूपैयाँ लिएको भनी सिंहले दाबी गरेका छन्, तिनै स्वयं व्यक्तिले खण्डन गरिसकेपछि पनि उक्त कारोबारले अदालतबाट कसरी वैधता प्राप्त गर्‍यो? विभागका अधिकारीहरू आश्चर्यमा परेका छन्।

मृतकका नाममा कारोबार
२५ करोडको कम्पनी किनेको देखाइएकी जयन्ती थापाको बैंक खाताहरु हेर्दा जम्मा बचत रकम ५१ हजार रुपैयाँ मात्र देखिन्छ। उनले त्यति ठूलो कम्पनी किन्ने आफ्नो हैसियत नभएको मात्र खुलाएकी छैनन्, सिंहले नक्कली कारोबार कसरी देखाउँथे भन्ने कुराको पनि खुलासा गरेकी छन्।

गिल्ट इन्भेस्टमेन्ट कम्पनी बेचेवापत् सिंहले जयन्तीबाट ६ करोड २४ लाख रुपैयाँ राजकुमारमार्फत लेनदेन भएको र बाँकी १८ करोड ७६ लाख रूपैयाँ पछि विभिन्न मितिमा नगदै भरपाई गरी बुझिलिएको भन्ने व्यहोराका कागजात तथा भरपाईको फोटोकपी पेस गरेको देखिन्छ। तर, ती कागजातहरूको आधिकारिकता र वैधता प्रमाणित हुने अन्य कुनै आधार देखिँदैन।

कतिसम्म भने राजकुमार भनिएका व्यक्ति खोज्दै जाँदा उनी रौतहटतिरका रहेको र मृत्यु पनि भइसकेको भन्ने पत्ता लाग्यो। अनुसन्धानलाई नजिकबाट नियालेका एक अधिकारी भन्छन्, ‘डमी व्यक्ति खडा गरेर जेजस्ता कारोबार देखाए पनि ती अधिकांश नक्कली हुन्। खरिदबिक्रीको ठूलो फेहरिस्त देखाएपछि आफ्नो अवैध आर्जनले वैधता पाउँछ भन्ने बुझाइ यी प्रतिवादी सिंहमा देखिन्छ तर राज्यलाई कर तिर्नुपर्छ भन्ने सोचचाहिँ कतै पनि देखिँदैन।’

गिल्ट इन्भेस्टमेन्ट प्रालि (क्यासिनो रोयल) ले पर्यटन विभागमा बुझाउन बाँकी राजस्व

आर्थिक वर्ष

०७०/७१

०७१/७२

०७२/७३

०७३/७४

०७४/७५

०७५/७६

०७६/७७

जम्मा बक्यौता (रु.)

बक्यौता रकम

७,२५,००,०००

४,९०,००,०००

२,८५,००,०००

२८,१५,०००

४,९०,००,०००

६,२०,००,०००

७,०५,००,०००

३३४३१५०००

२०७७ असार १३ को पर्यटन विभागको पत्रमा आधारित

करचुक्ताबिनै नामसारी
विशेष सरकारी वकिल कार्यालयका एक अधिकारीका भनाइमा, २५ करोडको कम्पनी किनबेच हुँदा पनि राज्यका कुनै निकायले करचुक्ता प्रमाणपत्र नखोज्नु अर्को आश्चर्यजनक पक्ष छ।

‘पर्यटन विभागलाई ३३ करोड रुपैयाँभन्दा बढी राजस्व बुझाउन बाँकी रहेको कम्पनीको हक हस्तान्तरण कसरी भयो? अनि कर नै नतिरी गरिएको कारोबार र देखाइएको आम्दानीले कसरी वैधता पायो?’ ती अधिकारी भन्छन्, ‘यदि अनुसन्धान अपूर्ण लागे अदालतले नै अनुसन्धान गर्ने निकायलाई पूर्ण अनुसन्धानका लागि न्यायिक टिप्पणी लेख्न सक्छ। तर, सम्पत्तिको वैध स्रोत देखाउने दायित्व अभियुक्तकै हो। जसले आफ्नो सम्पत्ति र कारोबारको वैधानिक स्रोत खुलाउन सक्दैन, उसले गैरकानुनी क्रियाकलापबाट कमाएको ठहरिने कानुनको व्यवस्था हो।’

यो त एउटा कम्पनीको मात्र कथा भयो। देशभरिमा उनका यस्ता कम्तीमा १० वटा कम्पनी छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसँग ४० करोड ६० लाख रुपैयाँबराबरको सम्पत्ति रहेको र त्यसमध्ये १२ करोड ९२ लाख रुपैयाँको स्रोत खुलेको अभियोगपत्रमा उल्लेख गरेको छ। २७ करोड ६७ लाख रुपैयाँको वैध स्रोत नखुलेकाले उनले विभिन्न गैरकानुनी क्रियाकलापबाट यो रकम आर्जन गरेको दाबीसहित २०७९ कात्तिक १५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

गएको वैशाख १३ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले मुख्य अभियुक्त सुरेन्द्रबहादुर सिंहका साथै उनी श्रीमती शारदादेवी, छोरा जीवनबहादुर र शंकास्पद कारोबारमा जोडिएकी जयन्ती थापालाई एकसाथ सफाइ दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .