ad ad

कारोबार


घण्टामै तीनवटा गाडी एसेम्बल गर्न सक्ने हुन्डाईको प्लान्ट, यही वर्ष ३ मोडल बन्ने

घण्टामै तीनवटा गाडी एसेम्बल गर्न सक्ने हुन्डाईको प्लान्ट, यही वर्ष ३ मोडल बन्ने

रामग्राम (परासी)मा तयार भएको हुन्डाईको एसेम्बली प्लान्ट।


नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १७:४८, रामग्राम (परासी)

लक्ष्मी ग्रुपले विद्युतीय गाडीसमेत एसेम्बल गर्नसक्ने गरी परासीमा प्लान्ट खडा गरेको छ। 

हुन्डाईको भेन्यु कारबाट एसेम्बल सुरु गरेको कम्पनीले भविष्यमा विद्युतीय गाडी समेत एसेम्बल गर्नसक्ने पूर्वाधार तयार गरेको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार परासीको रामग्रामको एसेम्बल प्लान्ट उद्घाटन गरेका थिए। कम्पनीले भेन्युको एस भेरियन्ट यही प्लान्टमा उत्पादन गरी सफल परीक्षण समेत गरेको छ। 

योसँगै कम्पनीले नेपाली बजारमा एक हप्ताभित्रै नेपालमै बनेको भेन्यु सार्वजनिक गर्दै छ। 

भेन्युको सफलतासँगै १ वर्षभित्र ३ वटा मोडल बजारमा ल्याउने योजना छ। हुन्डाईले नेपालमा पेट्रोल इन्जिनमा बढी माग हुने मोडल एसेम्बल गर्नेछ। 

‘अहिले भेन्यु सुरु भएको छ। अबको १ वर्षभित्र एसयूभी क्रेटा र हचब्याग एसेम्बर सुरु हुन्छ’, लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलिया भन्छन्, ‘दैनिक कति उत्पादन गर्ने बजारको मागअनुसार भर पर्छ।’

हुन्डाईको नेपालमा कोना र आयोनिक ५ विद्युतीय गाडी आए पनि अहिले धेरै बजार हिस्सा लिनसकेका छैनन्। कोरियन उत्पादकले क्रेटालाई नै विद्युतीयमा ल्याउने तयारी गरेको छ। हुन्डाईले मास प्रोडक्टको रुपमा विद्युतीय गाडी बजारमा ल्याए नेपालमा भएको एसेम्बल प्लान्टबाट सजिलै उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ। 

‘अहिले आइसगाडी (पेट्रोल–डिजेल)को लागि प्लेटफर्म तयार गरिएको छ’, महाप्रबन्धक थपलिया भन्छन्, ‘विद्युतीय गाडी बनाउँदा ब्याट्री जडान गर्नको लागि एउटा लाइन थप्दा हुन्छ।’

उनले हुन्डाईले विद्युतीय गाडी ल्याए पनि नेपालमा एसेम्बल गर्न थप ठूलो संरचना बनाउन आवश्यक नरहेको बताए। एसेम्बलको लागि सबै प्रक्रिया एउटा भएकाले इन्जिनको सट्टा ब्याट्री र मिटर जडान गर्दा सकिने कम्पनीले जनाएको छ। 

घण्टामा ३ गाडी उत्पादन, ११ सय पार्ट्स जडान
लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी) को स्थापना गरी हुन्डाईका गाडी एसेम्बल गर्न लागिएको हो। एसेम्बल प्लान्ट स्थापनाको लागि उत्पादक कम्पनी हुन्डाईले प्राविधिक सहयोग गरिरहेको छ।

उद्घाटन कार्यक्रममै प्रधानमन्त्री दाहालसहित नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ते यन्ग, हुन्डाई मोटर भारतका प्रबन्धनिर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सू किम उपस्थित थिए। 

उद्घाटनसँगै लक्ष्मी ग्रुपले भारत र कोरियाबाट पार्ट्स ल्याएर एसेम्बल थालेको छ। गाडीको बडीपार्ट भारतबाट आयात हुन्छन् भने इन्जिन लगायत मुख्य पार्ट्स कोरियाबाटै आयात भएका छन्। 

कोरियाबाट कलकत्तासम्म आएपछि रेल वा गाडीबाट ती सामान भन्सारसम्म ल्याइन्छ। भन्सारबाट कन्टेनरलाई नेपाली ट्रकमा लोड गरी प्लान्टसम्म ल्याइन्छ। 

कन्टेनरमा गाडीको कलर गरिएको बडी, मोडल र भेरियन्टअनुसारका पार्ट्स, इन्जिन, ड्यासबोर्डलगायत इन्फोटेनमेन्ट सिस्टम छुट्टाछुट्टै प्याक भएर आउँछन्। नेपालमा मुख्यतः गाडीमा हुने सबै पार्ट्सको जडान र टेस्टिङको काम हुन्छ। 

त्यसका लागि प्लान्टमा एसेम्बल, सबएसेम्बल, उपकरण टेस्टिङ, रोड टेस्टिङ, वाटर सावर टेस्टिङ र फाइनल इन्स्पेक्सनको चरण पार गर्दै गाडी तयार भइरहेका छन्।  

कम्पनीका अनुसार सबएसेम्बल युनिटबाट मुख्य एसेम्बल युनिटमा ११ सय पार्टपुर्जा जडान गरिन्छ। पार्ट्स जडान, परीक्षणबाट प्रतिघण्टा ३ वटा गाडी उत्पादन गर्न सकिन्छ। अहिले एसेम्बल प्लान्ट एउटा सिफ्टमा मात्रै सञ्चालन भएको छ। यसबाट मात्रै वार्षिक ५ हजार उत्पादन गर्न सकिन्छ। 

१० बिघामा प्लान्ट, अबको योजना नेपालमै ‘पेन्टिङ’ गर्ने
लक्ष्मी कर्पोरेसनले भारतमा नै कलर भएका गाडी नेपालमा भित्र्याएर पार्ट्स जडान गर्छ। कम्पनीको आगामी योजना नेपालमै गाडी ल्याई मागअनुसारको पेन्टिङ गर्ने छ। एउटा गाडीमा ९ देखि १० तहको कोटिङ गरिएको हुन्छ।  

‘पहिलो चरणमा पेन्टिङ गरिएकै गाडी नेपालमा भित्र्याएका छौँ। आगामी दिनमा स्वरूप (बडी) भित्र्याई मागअनुसारको पेन्ट गर्न पूर्वाधार तयार छ’, महाप्रबन्धक थपलियाले भने, ‘बजारमा गाडीको मागअनुसार दोस्रो चरणको काम सुरु हुन्छ।’

१० बिघा क्षेत्रफलमा प्लान्ट छ। एसेम्बली प्लान्टमा १४ हजार वर्गमिटरको भव्य निर्माण क्षेत्र छ। पहिलो चरणमा करिब २ सय जनालाई रोजगारी दिइएको छ। प्लान्टमै पेन्टिङको काम सुरु हुँदा करिब ५०० सयलाई रोजगारी दिन सकिने कम्पनीले जनाएको छ। 

कोरियन प्राविधिक पर्यवेक्षणमा प्लान्ट निर्माण भएकाले सुरक्षा र गुणस्तर सुनिश्चित हुने उल्लेख गरेको छ। 

उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले नेपाली अटोमोबाइल औद्योगीकरण क्षेत्रको विकासमा हुन्डाई नेपालको योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।    

नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने बताउँदै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त हुने उनको भनाइ थियो। 

हुन्डाई मोटर इण्डिया लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत किमले परासीको रामग्राममा रहेको नेपालको नयाँ हुन्डाई मोटर एसेम्बली प्लान्टप्रति आफ्नो उत्साह व्यक्त उन्नत प्रविधि र सीप हस्तान्तरणको प्रभावबारे बताएका थिए। 

नेपाल सरकारले एसेम्बल प्लान्ट स्थापना गर्ने कम्पनीलाई ५० प्रतिशत अन्तःशुल्कमा छुट दिएको छ। नेपालमै बनेका गाडीको मूल्य घट्छ वा घट्दैन कम्पनीले आगामी हप्ता सार्वजनिक गर्ने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .