बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वद्र्धनका साथै जल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आज बागमती नदीमा र्याफ्टिङ गरिएको छ।
महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदी र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका थिए।
नाराका अध्यक्ष शिव अधिकारीका अनुसार बिहान कुपण्डोलस्थित बागमती पुलबाट कीर्तिपुरको सुन्दरीघाटसम्म छ किलोमिटर दूरीमा जलयात्रा गरिएको छ। पन्ध्र बोटमा एक सय ५० जनाले र्याफ्टिङ गरेका थिए।
पञ्चेबाजा, नेवारी बाजा र ‘म्युजिक ब्यान्ड’ सहित जलयात्रा महोत्सव गरिएको थियो।

नाराका अध्यक्ष अधिकारीले बागमती नदी तथा यसका सहायक नदीको बिग्रँदो अवस्थालाई सुधार गर्दै बागमती नदीलाई माछा बाँच्न योग्य, पौडी खेल्न र पानी खान योग्य, तथा मृतकका लागि शुद्ध जल तर्पणयोग्य बनाउने जलजात्रा कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।
उनले नदीको समुचित संरक्षण गरी यी क्षेत्रमा भएका सम्पूर्ण मठमन्दिर, देवस्थल, चिहान, धर्मशाला आदि सबैको जीर्णोद्धार र पुनःनिर्माण गरी काठमाडौँ उपत्यकाको सभ्यता र संस्कृतिको पहिचान गराउन महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गरे।
Shares

प्रतिक्रिया