ad ad

समाज


टर्कीमा नेपालीबाटै नेपालीको अपहरण, २१ लाख फिरौती बुझेपछि काठमाडौंबाट पक्राउ

टर्कीमा नेपालीबाटै नेपालीको अपहरण, २१ लाख फिरौती बुझेपछि काठमाडौंबाट पक्राउ

नेपालखबर
भदौ ८, २०८० शुक्रबार १५:४४, काठमाडौँ

वैदेशिक रोजगारीका लागि गएका तीनजना नेपालीलाई टर्कीबाट अपहरण गरी फिरौती रकम लिने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौंका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलवासे र पर्वतका ४२ वर्षीय दिलबहादुर थापा रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरुलाई काठमाडौंको गैरीघाटबाट फिरौतीको २१ लाख ७५ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका–२ बस्ने २५ वर्षीया सबित्रा थापा, उदयपुरको त्रियुगा नगरपालिका– ३ बस्ने कृष्ण कार्की र काभ्रेपलाञ्चोकको नमोबुद्ध–१ मथुरापाटी बस्ने ३० वर्षीय राजन सत्याल एकसाथ नेपालबाट सिजनल भिसामा वैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएका थिए।

सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएकाले लुकीछिपी उनीहरु ग्रीस प्रवेश गरेका थिए। त्यसपछि ग्रीस पुलिसले समातेर  उनीहरुलाई त्यहाँको सिमानाबाट टर्की पठाको थियो।

त्यस क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्ति र उसका सहयोगीले उनीहरुलाई अपहरण गरेका थिए।

डोरीले बाँधेर शारीरिक तथा मानसिक यातना तथा डर त्रास देखाई, ज्यान मार्ने धम्की दिएर पीडितहरुको नेपालका परिवारहरूसँग १५ हजार युरो फिरौती माग गरेका थिए। 

त्यसबारे पीडितका आफन्तले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जानकारी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

टर्की र दुबईबाट ह्वाट्सएपमार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी २१ लाख ७५ हजार रुपैयाँ नेपालमा फिरौती रकम लिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न चारैजनालाई भदौ २ गते काठमाडौंको गौरीघाटस्थित कोठाबाट फिरौती रकमसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

टर्कीमा बन्धक बनाई राखेका पीडितहरू समेतलाई सकुशल उद्दार गर्न प्रहरी सफल भएको छ।

उनीहरुलाई त्यहाँस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष उज्जलकुमार घिसिङसहितको सक्रियामा उद्धार गरिएको हो।

‘हामीले अपहरणमा परेका तीनैजनालाई उद्धार गरेका छौँ। उनीहरुलाई हामीले सुरक्षितसाथ राखेका छौँ’, घिसिङले नेपालखबरसँग भने, ‘अब पीडितहरुलाई नेपाल पठाउने पहल गरिरहेका छौँ।’

घिसिङले टर्कीमा भएको घटनाको अनुसन्धानमा आफूहरुले सघाइरहेको पनि जानकारी दिएका छन्। 

पक्राउ परेकामध्ये शिवराज कुँवरको भूमिका नेपालमा फिरौती रकम लिने रहेको थियो।

यस्तै, रामेश्वर अर्याल नेपालमा फिरौती लिएको रकम शिवराज कुँवरसंग लिन सम्पर्क भएको व्यक्ति हुन् भने हाल वैदेशिक रोजगारको सिलसिलामा दुवई रहेका प्रकाश बेलबासेको काम दुबईबाट नेपालमा शिवराज कुँवरलाई फिरौती रकम लिन लगाउने तथा रामेश्वर अर्याललाई रकम दिनु भन्ने व्यक्ति भएको प्रहरीले जनाएको छ।

यस्तै, दिलबहादुर थापा दुवईमा प्रकाश बेलबासेलाई रकम नेपालको रामेश्वर अर्याललाई दिनु भनेर सम्पर्क नम्बर दिने व्यक्ति हुन्।

पक्राउ भएका व्यक्तिहरूलाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रहरीले वैदेशिक रोजगारीको लागी विदेश जाँदा नेपाल सरकारको श्रम स्वीकृती भएको देशहरूमा मात्रै आवश्यक कानुनी प्रकिया पूरा गरी जान आग्रह गरेको छ।

पछिल्ला दिनमा यस्ता घटनाबाट धेरै नेपाली पीडित भएको भन्दै प्रहरीले गैरकानुनी रूपमा विदेश जाँदा केही भइहालेमा उद्धार र अनुसन्धान जटिल हुने पनि जनाएको छ।

सच्याइएको** : यसअघि यसै समाचारमा टर्कीबाट अपहरण भएको हुनुपर्नेमा अन्यथा भएकाले सच्याएका छौँ। -सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .