ad ad

समाज


भीम उपाध्यायले मागे माफी, पूर्णमाया भन्छिन् : मेरो बेइज्जत भयो, साइबर क्राइम मुद्दामा गइसकेँ

भीम उपाध्यायले मागे माफी, पूर्णमाया भन्छिन् : मेरो बेइज्जत भयो, साइबर क्राइम मुद्दामा गइसकेँ

फाइल तस्बिर


नेपालखबर
भदौ ८, २०८० शुक्रबार १२:७, काठमाडौँ

पूर्व सचिव भीम उपाध्यायले चितवनको भरतपुर महानगरपालिका-१६ की पूर्णमाया गुरुङको फोटो दुरुपयोग प्रसंगमा सार्वजनिक रुपमा माफी मागेका छन्।

पूर्णमायाले बिहीाबर नै जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता गराइसकेकी छन्। 

पूर्णमाया गुरुङले साइबर क्राइममा उजुरी दिएपछि पूर्व सचिव उपाध्यायले फोन गरेर शुक्रबार माफी मागेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा पनि माफी माग्दै पूर्णमायाबारेको पुरानो पोस्ट हटाइसकेको बताएका छन्। 

‘चितवनकी भरतपुर–१६ की पूर्णमाया गुरूङ बहिनीलाई फोन गरेर मेरो पोस्टले पारेको मानसिक पीडामा मैले गहिरो दुःख प्रकट गर्दै क्षमा मागिसकेको छु’, उनले भनेका छन्, ‘यो तथ्य जानकारी आउनासाथ मैले त्यो फोटो पोस्ट डिलिट गरिसकेको छु। मेरो मेसेन्जरले ४-५ दिनदेखि काम नगर्दा उनले पठाएको म्यासेज पढ्न नपाउँदा हामीबीच बेलैमा सम्पर्क हुन नसकेको रहेछ। नभए यो समस्या उतिबेलै सल्टिसकेको हुने थियो। प्रविधिको समस्याले गर्दै यस्तो हुन पुगेको हो,’

त्यो असमझदारी पूर्णमाया गुरूङ र आफूबीच भएको बताउँदै उनले तेस्रो पक्ष बीचमा नआउन पनि भनेका छन्। हिन्दुहरुले देउता मान्ने गरेको गोरु धरानमा काटिँदा पूर्णमाया र आफू दुवै अपमानित भएको उनले बताए। 

‘हामी दुवै सनातनी हिन्दु र गाईगोरू पुजा गर्ने, गाई गोरूको मासु नखाने मान्यता राख्ने एकै समुदाय हौँ। धरानमा हामीले देउता मान्ने गोरू काटिँदा दुवैजना अपमानित भएका छौँ,’ उनले भनेका छन्।

उपाध्यायले सामाजिक पूर्णमायासँग कुरा मिलिसकेको बताएका छन्। तर पूर्णमायाले कानूनी प्रक्रियामा गइसकेकाले गाली बेइज्जतीको उपचार कानुनबाटै खोज्ने गरी अघि बढिसहेको जवाफ दिएकी छन्। 

आफूले गर्दै नगरेको गल्तीमा सामाजिक सञ्जालबाट खेपेको गाली बेइज्जतीविरुद्ध प्रहरीमा साइबर क्राइम उजुरी दिइसकेपछि अब त्यो फिर्ता नहुने पनि बताएकी छन्। 

आफूले पटक पटक आग्रह गर्दा पनि उपाध्यायले पोस्ट नहटाएको बताउँदै अब कानुनी उपचार नै विकल्प रहेको पनि बताएकी छन्। 

भरतपुर महानगरपालिका १६ की पूर्णीमाया गुरुङले उपाध्यायविरुद्ध उजुरी दिएकी हुन्। उनले उपाध्यायले आफ्नो दुई वर्षअघि माइती गाउँको भिडिओबाट स्क्रिन सर्ट लिएर 'गोरु खाने धराने' भन्दै पूर्णीमायाको फोटो फेसबुकमा हालेका थिए।

पूर्णमायाका अनुसार दुई वर्षअघि तनहुँस्थित माइतीमा पुगेका बेला राँगाको मासु खाएको भिडिओ टिकटकमा हालिएको थियो।

तर रमाइलोका लागि हालेको उक्त भिडिओबाट फोटो काटेर अहिले धरानको गोरु खानेहरुसँग जोडेर आफ्नो बदनाम गरिएको उनले बताएकी छन्। उनले गोरुको मासु खाने धरानेहरुसँग आफ्नो कुनै सम्पर्क नरहेको पनि बताएकी छन्।

'२०२२ फेब्रुअरी २१ तारिखमा माइती गाउँमा भात खुवाई कार्यक्रम थियो', उनले भनेकी छन्, 'राँगाकोहड्डी भाइले ठूलो ल्याइदिएको थियो। दुई वर्षअघि मैले रमाइलोका लागि उक्त भिडिओटिकटकमा हालेको थिएँ। अहिले त्यही भिडिओको स्क्रिन सर्ट लिएर मेरो बदनाम गरियो। मैलै आजसम्म गोरुको मासु खाएको छैन।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .