समाज


कक्षा ६ की ६१ वर्षीया छात्रा प्रेमकुमारी

कक्षा ६ की ६१ वर्षीया छात्रा प्रेमकुमारी

नातिनातिना उमेरका सहपाठीसँग कक्षाकोठमा ६१ वर्षीया प्रेमकुमारी गिरी


भेषराज बस्नेत/रासस
भदौ ३, २०८० आइतबार ६:५७, राँझा (बाँके)

कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन्। उनीहरुकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्छिन्। बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गिरी कक्षाकोठाको अघिल्लो लाइनमा बस्छिन्। कक्षामा नियमित उपस्थित हुने उनको अरू विद्यार्थीसरह पढाइमै ध्यान केन्द्रित हुन्छ। 

ज्ञानज्योति माविको कक्षा ६ मा दिनहुँ देखिने यो दृश्यले हिजोआज धेरैलाई आश्चर्यचकित बनाएको छ। यसले सबैलाई खुसी पनि तुल्याएको छ। कोहलपुर–५ एनसिसिएन टोल निवासी गिरी इच्छाशक्ति भए पढाइलाई उमेरले छेक्न नसक्ने गतिलो उदाहरण बनेकी छन्। 

‘हरेक व्यक्तिले शिक्षा अनिवार्य लिनुपर्छ। पढाइभन्दा ठूलो चिज जीवनमा अरू केही छैन’, उनी भन्छिन्, ‘नातिनातिनासँग पढ्न पाउँदा र छोराहरुले मलाई सिकाउँदा निकै खुसी लागिरहेको छ।’ प्रेमकुमारीले आफ्ना ६ सन्तान हुर्काइसकेकी छन्। उनका छोराछोरी आआफ्ना व्यापार व्यवसायमा सक्रिय छन्। 

कान्छी छोरी उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियामा छन्। पढ्ने इच्छा हुँदाहुँदै पनि विगतमा घरपरिवार र छोराछोरी हुर्काउँदा विद्यालय जान नपाएको उनको भनाइ छ। अहिले घरपरिवारमा फुर्सद मिलेपछि विद्यालय भर्ना भएर पढाइ सुरु गरेको प्रेमकुमारीले बताइन्। 

‘मैले सानोमा पढ्न पाइनँ, घरकै काममा व्यस्त हुनुपर्‍यो’, उनले भनिन्, ‘बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेकी छु।’

नातिनातिना उमेरका सहपाठीसँग पढ्दा रमाइलो हुने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘बिहान खाना खाएर विद्यालय आएपछि कक्षामा पढ्दा समय बितेको थाहा हुँदैन, बालबच्चासँग रमाइलो गरी पढ्ने गरेकी छु।’ 

आफ्नो वडाको विद्यालय घरबाट टाढा पर्ने भएका कारण ११ नं वडामा रहेको विद्यालयमा भर्ना भएको उनले बताइन्। ज्ञानज्योति माविको कक्षा ६ मा ७७ विद्यार्थी छन्। विद्यालयमा नियमित रुपमा उपस्थित हुने प्रेमकुमारीको कक्षाकोठा सिकाइस्तर सामान्य रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द ढकालले बताए। 

‘कहिलेकाहीँ बिरामी हुँदा आउनुहुन्न, अरू बेला कक्षामा उहाँ नियमित रुपमा उपस्थित हुनुहुन्छ’, प्रधानाध्यापक ढकालले भने, ‘लामो समयसम्मको पढाइ छुटेकाले सिकाइस्तर भने सामान्य छ।’

मलाई पढ्ने रहर लाग्यो, विद्यालयमा भर्ना गरिदिनूस् भनेपछि कक्षा ६ मा प्रेमकुमारीलाई भर्ना गरिदिएको प्रधानाध्यापक ढकालले जानकारी दिए। पाँच सय ६८ विद्यार्थी रहेको सो विद्यालयमा कक्षा ६ मा अन्य दुई विद्यार्थी पनि ३० वर्ष माथिको उमेर समूहका रहेको प्रधानाध्यापक ढकालले बताए। 

विद्यालयले आयोजना गरेको विद्यार्थीसँग मेयर कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बिहीबार ६१ वर्षीया विद्यार्थी प्रेमकुमारी गिरीलाई सम्मान गरेका छन्। उनले इच्छा शक्ति भए जुनसुकै उमेरमा पनि पढाइ गर्न सकिने कुरालाई प्रेमकुमारीले पुष्टि गरेको भन्दै खुसी व्यक्त गरे। 

प्रेमकुमारीले पढ्ने गरेको सकारात्मक कार्यको अन्य दिदीबहिनी तथा आमाहरुले पनि देखासिकी गरी अध्ययन कार्य गर्न लाज नमान्न नगरप्रमुख आचार्यले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad